कपि गरेरै भएपनि निर्देशक सुदर्शन थापाले पहिलो चलचित्र 'मेरो एउटा साथी छ' बाट राम्रै चर्चा पाए । सोही चलचित्रबाट उनलाई आश लाग्दो निर्देशकको रूपमा हेरिन थालियो । तर जब उनले निर्देशन गरेका पछिल्ला दुई चलचित्र 'के यो माया हो' र 'मेरो लभ स्टोरी' प्रदर्शनमा आए त्यसपछि उनका बारेमा औंला ठड्याउनेहरू बढ्न थाले ।
रजतपटमा महंगा निर्देशनका रूपमा अग्रपंक्तीमा पर्ने सुदर्शनले 'के यो माया हो' बाट जति आलोचन खेपे त्यो भन्दा बढि 'मेरो लभ स्टोरी' बाट खेपे । मिडियामा निकै कम छाउने सुदर्शन अहिले त गुमनाम जस्तै भएर बसेका छन् । दुई चलचित्रबाट असफलताको नमिठो स्वाद चाखेका यि निर्देशकलाई आफ्नै निर्माता अर्थात 'के यो माया हो' का निर्माता सुरेश पहारीले सुदर्शनले गर्दा चलचित्र असफल भएको आरोप लगाएका छन् ।
'के यो माया हो' रिलिज ताका निर्माता पहारीले सुदर्शनलाई नै लिएर चलचित्र निर्माण गर्ने हल्ला चलेको थियो तर अहिले यि निर्माताले फिल्मीखबरको कुराकानीमा हाल चलचित्र निर्माण गर्ने सोच नरहेको बताएका छन् । खासगरी सुदर्शनलाई अब अर्को प्रोजेक्टमा लिने सम्भावना नरहेको उनको भनाई छ । सुदर्शनको नामले नै चलचित्र निर्देशन गर्ने जिम्मा दिएको बताउने पहारी उनकै कारणले गर्दा चलचित्र नचलेको आरोप लगाउँदै भन्छन्, 'मेरो एउटा साथी छ हेरेर निर्देशन गर्ने जिम्मा दिएँ तर चलचित्र सोचे जस्तो राम्रो भएन ।'
नेपाली चलचित्र उद्योगमा धेरै निर्देशकहरु पहिला आफु बचेर मात्रै निर्मातालाई बचाउने गरेकाले चलचित्र राम्रो नबनेको उनको बुझाई छ । ‘निर्मातालाई बचाए मात्रै आफु बचिन्छ भन्ने कुरा निर्देशकहरुले सोँच्न आवश्यक छ’, पहारीले भने, ‘त्यस्तो सोँच भएको निर्देशकको खोजीमा छु ।’ आफुले खोजे जस्तो निर्देशक भेटे मात्रै चलचित्र निर्माण गर्ने पहारीले बताए ।