करिब दुई बर्ष अघि निर्माण शुरू गरिएको चलचित्र 'तुलसी' को हाल डबिङ कार्य भईरहेको छ । राजधानीको अनामनगर स्थित एबिज स्टुडियोमा चलचित्रका नायक बिमलेश अधिकारी र नायिका ऋचा घिमिरे डबिङमा व्यस्त छन् ।
तुलसीको पोस्टप्रोडक्सन रोकेर ब्रेकफेल शुरू गरेकाले काम ढिला भए पनि कथा पुरानो नहुने भएकाले आफू आरामले काम गर्न चाहेको निर्देशक घिमिरेले बताए । उनले भने, 'तुलसी भन्दा पहिला ब्रेकफेल रिलिज गर्न जरुरी थियो त्यसैले ढिला हुन गएको हो । अब छिट्टै नै चलचित्रलाई दर्शकमाझ ल्याउने छौं ।' तुलसी रोकिनुमा ब्रेकफेल निर्माणको साथसाथै घिमिरे दम्पतीको विदेश भ्रमण पनि मुख्य कारण हो ।
'दोस्रो प्रोजेक्ट 'वीरताको चिनो' रिलिज गर्न अष्ट्रेलिया र युरोप पुगेपछि तुलसीको काममा बाधा आएको हो', नायिका तथा चलचित्रकी प्रस्तुतकर्ता ऋचा भन्छिन्, 'समयानुकुल मिलाएर २०६९ सालमा नै चलचित्र रिलिज गर्छौं ।' ब्रेकफेलबाट मात्र हैन रिलिज भएका सबै चलचित्रको व्यापारबाट निराश भएकी ऋचा तुलसी रिलिजका लागि राईट टाईमको पर्खाईमा छिन् ।
वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा ऋचा प्रोडक्सनको प्रस्तुती रहेको चलचित्र तुलसी वर्गीय प्रेमकथामा आधारित छ । चलचित्रमा ऋचा र विमलेशको साथमा आयुष रिजाल, जयकिशन बस्नेत, बिष्णु सापकोटा, लोकनाथ सापकोटा लगायतका कलाकारहरूको अभिनय हेर्न सकिने छ । यो चलचित्रमा पहिलो पटक पुराना पुस्ताका ६ मुख्य कलाकार राजेश हमाल, करिष्मा मानन्धर, शिब श्रेष्ठ, भुवन केसी, मौसमी मल्ल र तृप्ती नाडखरलाई बिशेष भुमिकामा देख्न सकिने छ ।
दिपक बज्रचार्यको छायाँकन रहेको सो चलचित्रका गीतमा रनजित गजमेरले संगीत दिएका छन् । शिवम अधिकारीको लेखन रहेको चलचित्रको अधिकांश भाग कास्कीको रमणिय गाउँ धम्पुसमा गरिएको हो ।