चलचित्र बिकास बोर्डको रिक्त एक सदस्य पदका लागि निर्माता संघबाट प्रस्तावित तीन नाम मध्ये निर्माताद्धय केशव भट्टराई र जयप्रकाश प्रसाद रिजालले उक्त पद आफूहरूले नसम्हाल्ने बताएका छन् ।
सोमबार निर्माता संघको कार्यालयमा भेटिएका भट्टराई र रिजालले संघ फुट्ने कुरालाई हल्ला मात्र भएको भन्दै बोर्ड सदस्यमा नजाने बताएका हुन् । 'साथीहरूले मेरो नाम अघि सारे पनि म ९० प्रतिशत जाने मुडमा छैन', संघका महासचिव समेत रहेका निर्माता भट्टराईले भने । भट्टराईको अनुसार आफू बोर्डमा नगए पनि सरकारी लेवलको ईस्यूहरू राम्ररी उठाउन सक्ने ब्यक्तिको छनौट गर्दै भोलि सम्ममा संघले उपयूक्त ब्यक्ति बोर्डमा पठाउने छ ।
यस्तै आउदो माघको पहिलो साता सांस्कृतिक कार्यक्रमका लागि डेढ महिने अमेरिकी भ्रमणमा जान लागेका जयप्रकास रिजालले अमेरिका भ्रमण तय नभएको भए आफू बोर्डमा सर्वसम्मत प्रस्तावित हुने तर उता जान लागेकाले सदस्य पद प्रति मोह नगर्दा यो बिषय लम्बिएको बताए । उनले भने, 'म सर्वसम्मत हुन्थे तर अब अमेरिका यात्रा तय भैसकेकाले म उक्त पदका लागि अनिच्छुक छु ।'
जयप्रकाश र केशवको पाटो लगभग अन्त्य भए पनि संघले कुन निर्मातालाई बोर्डमा पठाउने भन्ने विषय तत्काल टुङ्गो लाग्ने स्थिति छैन । किनकी सदस्यका लागि महिला कोटाबाट पुनः दावी गरिरहेकी मौसमी मल्ल र निलहरी काफ्लोको पक्षमा निर्माताहरू एक मत हुने कुरामा पनि शंका छ । निर्माताहरूले मौसमी भर्खरै मात्र निस्कास्ति भएकाले उनलाई संघले नैतिकताको हिसावले भएपनि पुनः उक्त पदमा पठाउन नहुने अवाज उठाईरहेका छन् । यस्तै निलहरी काफ्लेको बिषयमा पनि उनीहरूको प्रतिक्रिया मौन नै छ ।
निर्माता संघबाट निलहरी काफ्ले सिफारिस भएको खण्डमा बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा दिने संकेत गरेकाले अहिले निर्माताहरू भण्डारीको उक्त सर्त प्रति आक्रोसित बनिरहेका छन् ।