आफूलाई महंगो स्क्रिप्ट राईटरका रूपमा चिनाएका प्रदिप भारद्वाज अब निर्माता पनि बन्ने भएका छन् । यसर्थ पनि उनले स्क्रिप्ट लेखेर मज्जाले पैसा कमाएको बुझिन्छ ।
चलचित्रको हाल गीत रेकर्डिङको काम भईरहेको बताउँदै प्रदिपले तीन जना नायिकाको कथामा चलचित्र बनाउने बताए । नायिका नयाँ अनुहार नै राख्ने बताउँदै केटिको महत्वकांक्षाका बारेमा चलचित्रको स्क्रिप्ट तयार पारेको प्रदिपको भनाई छ । चलचित्र यथार्थ घटनामा आधारित हुने समेत उनले बताए । चलचित्रको कलाकार, निर्देशक तथा प्राबिधिक भने छनोट भईनसकेको उनको भनाई छ ।
संगीतकार त्रय दिपक भट्टराई, सन्तोष रजौरे र ताराप्रकाश लिम्बुले आफूले लेखेका गीतमा संगीत दिईरहेको बताउँदै प्रदिपले चलचित्र निकै कम बजेटमा बनाउने बताए । उनले भने, 'अहिलेको नेपाली चलचित्रको मार्केटलाई हेरेर करिब ३० लाख भित्रमा चलचित्र तयार गर्ने मेरो सोच छ ।' अहिले धेरै बजेट लगाएको चलचित्र राम्रो बन्ने गलत मानसिकता बोकेकाहरूलाई थोरै बजेटमा पनि राम्रो चलचित्र बन्छ भनेर देखाउन खोजेको प्रदिपले बताए ।
देवरबाबु, शाहारा, सम्झना, हिफाजत, कस्ले चोर्यो मेरो मन, छोडि गए पाप लाग्ला, आई एम सरी, च्यालेञ्ज चलचित्रको कथा लेखि सकेका प्रदिपलाई स्क्रिप्ट लेखेरै निर्माता बन्न लागेको हो भनि प्रश्न गर्दा हाँस्दै उत्तर दिए, 'म सस्तोमा स्क्रिप्ट लेख्दिन तर स्क्रिप्ट लेखेकै भरमा निर्माता पनि बन्न लागेको हैन ।' हाल प्रदिपले एउटा चलचित्रको कथा लेखे वापत पाँच लाख भन्दा बढि रकम लिने गरेको दाबी गरेका छन् ।