गुरू नरेश पौडेल र चेली अरूणिमा लम्सालको सम्बन्धमा दुरी बढेको खबर बाहिर आईरहेका बेला सोमबार चलचित्र बजारको प्रिमियरमा उनीहरूको सम्बन्ध चिसिएको प्रष्ट देखिन्थ्यो ।
सुत्केरी अवस्थामा फिल्मको प्रोमोशनमा साथ दिन आएकी अरूणिमा र नरेश पौडेलको सामिप्यता नदेख्दा फिल्मीखबर समेत अचम्ममा परेको थियो । केही दिन अघिको एक बसाईमा अरूणिमाको प्रसंग निस्कदा नरेशले भनेका थिए 'अब अरूणिमासंगको च्याप्टर क्लोज भैसक्यो प्लीज अर्के कुरा गरौ । जुन कुरा प्रिमियर माहोलमा थप छर्लङ्ग भैदियो । यसैप्रसंगमा तपाईको गडफादर नरेश पौडेलसंग दुरी बढेको हो भन्ने फिल्मीखबरको प्रश्नमा अरूणिमाले भनिन् 'नरेश सरले नै मलाई यो स्थानमा ल्याउनु भएको हो त्यसैले उहाँसंग मेरो नराम्रो कहिलै हुने छैन र यो कुरा म सोच्न पनि सक्दिन ।' उनले त्यसो भनेपनि अन्य फिल्मी जमघटमा हर समय संगै देखिने उनीहरूको प्रिमियरमा बोलचाल नहुनुले यि गुरू चेलीको सम्बन्धको दुरी बढेको अनुमान कटिएको हो ।
प्रिमियर भर नरेश स्क्रिप्ट राईटर मौनता श्रेष्ठसंग बसेका थिए । पछिल्लो फिल्म दीप शिखाको असफल बक्स अफिस रिपोर्ट पश्चात सम्बन्धमा धमिलोपना बढ्दा सोमबारको प्रिमियरले उनीहरूको १० बर्षे सहयकार्यको च्याप्टर क्लोज हुन लागेको थप संकेत देखाएको छ । अहिले नरेश नयाँ फिल्मको प्रि–प्रोडक्सनमा ब्यस्त छन् । उनले उक्त फिल्ममा दीपशिखाका एक हिरो निरज बराललाई लिने करिब पक्का भैसकेको छ भने निरजको अपोजिटमा नयाँ हिरोईनलाई रजतपटमा भित्राउदैछन् ।