माघे संक्रान्तिको बिदा खाने दाउ सहित पुष २९ बाट चार नयाँ चलचित्रहरु प्रदर्शनमा आएका थिए । ति मध्ये चलचित्र बजार र लूट देशभर एकसाथ रिलिज भएको छ भने मस्ती काठमाडौँ उपत्यका र सडक उपत्यका बाहिरका हलहरु मार्फत प्रदर्शनमा आएको छ । दसैँ तिहार जस्तो लामो बिदा र पर्वमा त चलचित्रको व्यापार राम्रो नभैरहेको अवस्थामा संक्रान्तिको १ दिने बिदा खाने दाउ सहित प्रदर्शनमा आएका चलचित्रहरुले सोच अनुरुपको व्यापार नगरे पनि निराशाजनक व्यापार भने नभएको बुझ्नमा आएको छ ।
देशभर संगै पूर्वका हलहरुमा पनि तिन चलचित्रहरु प्रदर्शन भैरहेका छन् । प्रदर्शन भैरहेका ति चलचित्रहरुमा बजार, सडक र लूट रहेका छन् । तिन वटै चलचित्रको तिन दिनको व्यापार सोचे अनुरुपको नभएको चलचित्र वितरक एवं हल संचालकले जानकारी दिए । प्रत्येक जसो पूर्वका स्टेसनमा दुई चलचित्र भिडेर प्रदर्शनमा आएका छन् । माघे संक्रान्तिको दिन सम्पूर्ण चलचित्रको व्यापार औसत भन्दा माथि जान सकेन ।
उपत्यका भित्रका मल्टिप्लेकसहरुमा राम्रो कलेक्सन रहेको बताईएको चलचित्र लूट पूर्वको निलकण्ठ दमक, भिलेज सिनेमा उर्लाबारी, सुकुना बिराटचोक, शिव सिनेमा धरान, हिमालयन बिराटनगर, किरण झुम्का लगायतका सिनेमाघरहरु मार्फत प्रदर्शनमा आएको छ । बिराटनगर, धरान र दमकको सिनेमा घरहरुमा चलचित्रले राम्रो व्यापार गरेको छ । अन्य चलचित्रको तुलनामा दमकमा चलचित्रको कलेक्सन राम्रो रहेको छ । नेपाली सिनेमा खासै नचल्ने बिराटनगरमा पनि चलचित्रलाई दर्शकले रुचाएका छन् । झुम्का, विराटचोक लगायतका ग्रामिण स्टेसनमा भने चलचित्रले खासै व्यापार गर्न नसकेको खबर प्राप्त भएको छ । काठमाण्डौमा भने लूटले उत्साहजनक व्यापार गरेको बुझ्नमा आएको छ ।
त्यस्तै देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र बजार पूर्वको अन्नपुर्ण टाकिज बिर्तामोड, दमक चित्र मन्दिर दमक र गणेश टाकिज धरान मार्फत प्रदर्शनमा आएको छ । पूर्वको तिन वटै स्टेसनमा रिलिज हुने अवसर पाएको चलचित्र बजारले बिर्तामोडमा अन्यको तुलनामा राम्रो व्यापार गरेको छ । आज संक्रतिको दिन चलचित्रले करिब ७० हजार ग्रस कलेक्सन गरेको वितरक चैतन्य बरालले बताए । आज धरानमा पनि चलचित्रले ५० हजार माथि कलेक्सन गरेको तर यो कलेक्सन सोचअनुरुप नभएको हल संचालक बताउछन् । पहिले संक्रान्तिको बिदाको दिन झन्डै लाखौ माथिको कलेक्सन चलचित्रले गर्ने भएपनि यो वर्ष त्यसो हुन नसकेको उनीहरुको कथन छ ।
यसैगरि हरि बरालले निर्माण गरेको चलचित्र सडक बिर्तामोडको अन्नपुर्ण, दमकको पाथिभरा, पथरीको कन्चन, बेलबारीको सारदा र झुम्काको मनकामना मार्फत प्रदर्शनमा आएको छ । चलचित्र सडकले बिशेषत: दमक र ग्रामिण भेगको स्टेसनमा व्यापार राम्रो गरेको रिपोर्ट आएको छ । दमकको पाथिभरामा आज झन्डै ४५ हजार ग्रस कलेक्सन गरेको छ । भोलिबाट यी चलचित्रको लगानी सुरक्षित हुने हो अथवा लगानी डुब्ने हो थाहा हुने छ ।