चलचित्र बिकास बोर्डको रिक्त एक सदस्यका लागि निर्माता संघबाट एक प्रतिनिधि पठाउने बिषयको विवाद सोमबार टुङ्गो लाग्ने छ ।
प्रस्तावित केशव भट्टराई र जयप्रकाश प्रसाद रिजालले बोर्डमा नजाने बताएपछी उक्त स्थानमा मौसमी मल्ल र निलहरी काफ्ले मध्ये कसलाई पठाउने भन्ने बिषयले निर्माता संघमा विवाद भएको थियो । तर फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सदस्य को पठाउने भन्ने बिषयको अन्तिम निर्णय गर्न अध्यक्ष राजकुमार राईलाई दिएको अधिकार अनुरूप उनले बोर्ड सदस्यका लागि निलहरिको पक्षमा निर्णय गरेको बुझिएको छ ।
काफ्लेको नाम सहितको बन्द खाम सोमबार सञ्चार मन्त्रालयमा पुग्ने छ । 'प्रस्तावित अन्य सदस्यले बोर्डमा नजाने बताएपछी मौसमी र निलहरि मध्ये एकको नाम बन्द खाममा राखिएको छ । त्यसैले कसको नाम सिफारिस गरियो भन्ने कुरा सोमबार मात्र थाहा पाउनु हुनेछ', फिल्मीखबरसंगको कुराकानीमा अध्यक्ष राईले भने । मौसमीलाई नियूक्त गर्न संघका पूर्व अध्यक्ष युवराज लामाले राईलाई दवाव दिएका थिए भने जुनसुकै हालतमा निलहरिको पक्षमा निर्णय गर्न निर्माता रमेशजंग रायमाझीले राजकुमारलाई दवाव दिएको बुझिएको छ ।
तर पनि बन्द खाममा कसको नाम छ भन्ने बिषयको आधिकारिक जानकारी सोमबार दिउसो मात्र थाहा हुनेछ । सिफारिस गरिएको नाम सार्बजनिक भए लगत्तै ती निर्माताले सोमबारबाट नै विकास बोर्डको जिम्मेबारी सम्हाल्ने छन् । यदि बोर्डमा निलहरि आए अध्यक्ष गणेश भण्डारीले उनलाई स्वागत नगर्ने बुझिएको छ ।