हुन त रेखा थापाले गीत नगाएकी हैनन् तर उनले गाएका चार वटा गीत त्यति चर्चामा छैनन् । चर्चा नपाएको आफ्नो स्वरलाई तिखार्दै रेखाले अब जादुमयी आफ्नो आवाजलाई दर्शकको मुखमा झुण्डाउने प्रयास गर्दैछिन् । चुलबुले रेखाले दर्शकको मुखमा झुण्डिने गीत गाउने कार्यलाई अगाडी बढाउन कम्मर कसिसकेकी छिन् ।
रेखा फिल्मसको पहिलो प्रोजेक्ट अजम्बरी नातामा बाल आवाजमा गीत गाएकी रेखाले त्यसपश्चात चलचित्र ट्याक्सी र्डाईभरमा पनि गीत गाईन् तर गीत भन्दा अभिनयमा उनी जमेपछी गीत गाउने रहर त्यतिकै रह्यो उनको । तर समयले कोल्टे फेर्दै छ र रेखाले आफ्ना पूराना इच्छाहरूलाई पूरा गर्दैछिन् ।
सायद रेखाको पावर बुझेर होला कोरियोग्राफर शंकर विसीले उनको आवाजमा गीती एल्बम निकाल्ने तयारी गरिरहेका छन् । गत दशैको छेकोमा समेत रेखासंग एउटा गीत गाईसकेका शंकरले दुई दिन देखि रेखाको आवाजमा गीत रेकर्ड गरिरहेका छन् ।
दुई साता पछी 'समिक्षा' नामक एल्बम निकाल्ने तयारी गरेका शंकरले रेखाको दुई वटा एकल र संयूक्त साथै आफ्नो एकल स्वर सहित ६ वटा गीत रेकर्ड गर्दैछन् । 'पहिलो पटक आफ्नै संगीतमा एल्बम निकाल्दै छु', कमलादी स्थित मालश्री स्टूडियोमा गीत रेकर्ड गर्नमा ब्यस्त रहेका शंकरले भने ।
यस्तै रेखाले गीत गाउने रहर पुरानो भएतापनि ठाँउ नपाईरहेको अवस्थामा शंकरले आग्रह गर्दा आफ्ना पूराना रहरहरूलाई ब्यूत्ताएको बताईन् । 'खै कस्तो पर्ने हो मेरो दुलाहा राजा...', 'उसले औठी लागाई दिदा कस्तो होला मलाई ...' भन्दै गीत रेकर्ड गरिरहेकी रेखालाई फिल्मीखबरले तपाई पर्फेक्ट गायिका हो त भन्ने प्रश्न गर्दा उनले भनिन्, 'हैन, तर म राम्रो गाउने प्रयास गर्दैछु ।'
गायक प्रेमराजा महतसंग पनि दोहोरी गीत गाएकी रेखाले उक्त गीत सार्बजनिक नहुदा आफ्नो गायन कला बाहिर आउन नपाईरहेको अवस्थामा यसपाली भने आफ्नो स्वरले बजार तताउने विश्वास लिएकी छिन् । 'रावणको सुटिङ भैरहदा शंकर दाईले मेरो लागि सुहाउने गीत छ भन्नु भयो अनि म रेडी भए । सायद राम्रो पनि गाएकी छु होला', आफ्नो स्वरलाई आफै जज गर्दै रेखाले भनिन् । भबिष्यमा आफ्नै एल्बम निकाल्ने सोच पनि त होला नि भन्ने प्रश्नमा रेखाले भनिन्, 'अहिले सम्म त त्यस्तो सोचाई छैन तर भबिष्यमा मुड चल्यो भने पक्कै निकाल्छु ।'
यस अघि थुप्रै गायक गायिकाको स्वरलाई रेकर्ड गरिसकेका रेकडिष्ट कुमार रानाले अरू गायक गायिका भन्दा रेखाको स्वर कम नभएको प्रतिक्रिया दिए । उनले भने, 'प्रोफेशनल गायक गायिका हुनुभएको भए हरेक कुरामा नोट गर्दा गीत बिग्रन पनि सक्थ्यो तर रेखा जीले गाउने कुरामा मात्र ध्यान दिदा गीत राम्रो भएको छ ।'