पहिले पहिले चलचित्रको पर्दामा देखिने नायिकालाई हिरोनी भन्ने गरिन्थ्यो । हुनत अहिले पनि बिशेष गरी गाउँले परिवेशमा नायिका अर्थात हिरोईनलाई हिरोनी भन्ने गरेको पाइन्छ । यहि 'हिरोनी' नामको गाउँले भाषामा नेपाली चलचित्र निर्माण गरिंदैछ । जुन चलचित्रलाई सिनेमाकै हिरोईनले निर्माण गर्नेछिन् ।
अमेरिकामा केहि बर्ष सिनेमा सम्बन्धी अध्ययन गरेर 'मेरो बेस्ट फ्रेण्ड' नामको चलचित्रबाट हिरोईनको रूपमा डेब्यू गरेकी एनआरएन प्रियंका कार्की आफ्नो ड्रिम प्रोजेक्टको रूपमा 'हिरोनी' नामको चलचित्र निर्माण गर्ने तयारीमा छिन् । नेपाली चलचित्र क्षेत्रका नायिकाहरूको यथार्थ घटनालाई उनले पर्दामा प्रस्तुत गर्ने जमर्को गर्न लागेकी हुन् । चलचित्रको कथा आफै लेखेको बताउने प्रियंका भन्छिन्, 'नायिकाहरूले भोग्नु परेका दुख सुख अनि संघर्षका कथाहरू पर्दामा जस्ताको तस्तै उतार्ने कोसीस गर्नेछु ।'
भर्खरै मात्र 'थ्री लभर्स' चलचित्रको सुटिङ सकाएकी प्रियंकाले सोही चलचित्रमा सहायक निर्देशकको रूपमा रहेका मुस्कान ढकाललाई आफ्नै चलचित्रबाट डेब्यू गराउँदै छिन् । मुख्य भुमिकामा आफू नै रहने बताउँदै प्रियंकाले पटकथा र संवादको जिम्मा निर्देशक शिब रेग्मीलाई दिने योजना बनाएको बताईन् । चलचित्रमा नायकको भुमिका कस्ले गर्छ भन्ने बारे अझै निधो नभएको उनको भनाई छ । थोरै लागतमा निर्माण गर्ने सो चलचित्रको छायाँकन भने केहि समय ढिला नै हुने प्रियंका बताउँछिन् ।