दुई चलचित्र 'वान डे' र 'कसम' निर्माण गरेका रामप्रसाद रिजालले आफ्नो जन्मदिनको अवसर पारेर आज बिहान नयाँ चलचित्र 'धुँवा' को निर्माण घोषणा गरे । घोषणासँगै उनले चलचित्रको गीत रेकर्डिङ कार्य पनि शुरू गरे ।
आफ्नो २६ औं जन्मदिनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरेको बताउँदै रिजालले फिल्मीखबरलाई भने, 'यो चलचित्र बिशेष हुनेछ ।' हुनत हरेकले आफ्नो प्रोजेक्टलाई बिशेष नै भन्छन् तर रामले भने अनुरूप यो चलचित्रमा संसारमा कसैले नखिचेको सिन खिचिने छ । जसका लागी उनले क्यामेरा भएको हेलिकोप्टर ल्याउने तयारी गर्दैछन् । 'कसैले नदेखेको र कसैले कल्पना नगरेको दृश्य हामीले खिच्ने छौं', राजधानीको ड्रिम स्टुडियोमा जन्मदिनको लड्डु बाँड्दै गरेका रामले भने, 'फाल्गुनबाट हामी सुटिङमा जानेछौं ।'
सुमन सिंह, प्रियंका कार्कीलाई आफ्नो प्रोजेक्टमा लिएको बताउँदै रामले नायिका निशा अधिकारीसँग पनि कुरा भएको जानकारी गराए । आफ्नै भाई लक्ष्मण रिजालको लेखन निर्देशन रहने उक्त चलचित्र लागुऔषधको बिषयमा केन्द्रित रहने रामको भनाई छ । रामका अनुसार चलचित्र माया प्रेममा फसेपछिको युवायुवतीको कथालाई समेट्दै लागुऔषधमा परेकाहरूको यथार्थ घटनालाई स्याड इन्डिङको रूपमा प्रस्तुत गरिनेछ ।
आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा रजोल सिलवालले नयाँ अनुहारको रूपमा अभिनय गर्दैछन् भने लोचन घिमिरेको संगीत तथा रामेश्वर कार्कीको छायाँकन रहनेछ । चलचित्रका अन्य प्राबिधिक र कलाकार छनोटको क्रममा छन् ।