दोस्ती, खलनायक, दादागिरी र डन चलचित्र हिट भएको रिजल्ट पल्टाउदै भोजपुरी सिनेमा उद्योगका निर्माता एवं वितरक डिम्पी बसिनले रोज राणाको चार सिनेमालाई भोजपुरीमा डविङ गरी प्रदर्शन गर्ने भएका छन् ।
भोजपुरी भाषामा डविङ गर्ने गरी बुधबार अपरान्ह रोजले आफ्नो चार फिल्मको इन्डिया राईटस बसिनलाई दिए । एग्रीमेन्ट पश्चात रोजले भने, 'नेपाली सिनेमाको मार्केट नभएका तर्कहरू आईरहेका बेला मैले राम्रो रकममा चार वटा फिल्म उहाँलाई दिएको छु । त्यसैले नेपाली सिनेमाको डिमान्ड उता हुनु मेरा लागि मात्र हैन समग्र उद्योगका लागि खुशिको कुरा हो ।'
पछिल्लो समय नेपालका स्टार भनेर भोजपुरी दर्शकमाझ चिनिएका बिराज भट्टको लोकप्रियता बढिरहेका बेला बसिनले बिराज अभिनित रोजका ती फिल्मलाई इन्डिया राईटस स्वरूप किनेका हुन् । 'अब चाँडै नै डविङ सुरू गर्छु अनि फिल्म रिलिज गर्छु', एग्रीमेन्ट पश्चात बसिनले भने । बिराज भट्ट भएकै कारणले फिल्म लिनु भएको हो त भन्ने फिल्मीखबरको प्रश्नमा बसिनले भने', एउटा त यो कुरा सत्य हो तर फिल्म पनि राम्रा रहेछन् नभए बिराजका सयौं सिनेमा पनि त छन् नि किन मैले यि सिनेमा मात्र रोजे त ?' उनले प्रति प्रश्न गरे ।
बसिनले मौका मिले र भ्याएसम्म अन्य नेपाली सिनेमाको पनि राईटस किन्ने जमर्को गर्दैछन् तर पहिलो रिजल्ट स्वरूप रोजका चार फिल्म रिलिज भएपछी मात्र उनको बाकी योजना कार्यान्वयन हुने छ । गत तिहारमा रिलिज भएको फिल्म 'म छु नि तिम्रो' ले अपेक्षित ब्यापार नगरे पनी रोज अहिले नयाँ चलचित्र ग्याङस्टारको प्रि-प्रोडक्सनमा ब्यस्त छन् । मल्टीकाष्ट उक्त चलचित्र राम्रो बनेमा बसिनले पुरै फिल्म किनिदिने बाचा पनि रोज समक्ष गरेका छन् ।