दर्शक तथा चलचित्रकर्मीले लगाएको पूर्वानुमान अनुरूप चलचित्र 'लूट' ले अहिले राजधानीका सिनेमा घरबाट मज्जाले पैसा लुटी रहेको छ । युवापुस्तालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त चलचित्रलाई युवापुस्ताले नै अत्याधिक रूचाएका छन् ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लूट' लाई बिशेषगरी मल्टिप्लेक्समा जाने दर्शकहरूले रूचाएको पाइएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार राजधानीका मल्टिप्लेक्स हलहरू आजका दिनसम्म पनि हाउसफुल छन् । प्राय हिन्दी चलचित्र हाउसफुल हुने हलहरूमा अहिले लूट हेर्ने दर्शकहरू ओईरिदा निर्माण युनिट मात्र हैन सम्पूर्ण चलचित्रकर्मी दंगिएका छन् ।
दर्शकहरूले लूटको डायलग, गीत, कलाकारको अभिनय, निर्देशन पक्ष र सिनेमाटोग्राफीलाई बिशेष रूचाएको पाईएको छ । समिक्षकहरूले भने चलचित्रको स्क्रिन प्लेलाई कमजोरीको रूपमा हेरेका छन् । अन्य पक्ष जस्तै स्क्रिन प्ले पनि शसक्त भएको भए चलचित्र हलिउड भन्दा कम नहुने समिक्षकहरू बताउँछन् । तर जे होस् नेपाली चलचित्र नचलेको भन्दै संकटकाल घोषणा हुने स्थितीमा पुग्दा लूटले गतिलो जवाफ दिएर नेपाली दर्शक राम्रो चलचित्र हेर्न इच्छुक रहेको प्रस्ट्याईदिएको छ । बधाई छ लूट टिमलाई !