चलचित्रको कथा, प्रस्तुती, गीतसंगीत अनि कलाकारको अभिनय जति महत्वपूर्ण हुन्छ त्यतिनै महत्व लोकेशनको हुन्छ । चलचित्रको लोकेशन र प्रयोग गरिने प्रोपटिजले राम्रो चलचित्रको सुन्दरतामा निखार ल्याएको हुन्छ ।
यहि माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र 'काठमाण्डू' मा त्यस्ता प्रोपटिजलाई स्थान दिईएको छ जुन अन्य नेपाली चलचित्रमा अहिलेसम्म देखिएको छैन । चलचित्रमा बिश्वमा नै महंगो गाडीका रूपमा चिनिने फेरारी, लिमोजिन, ह्यामर प्रयोग गरिएको छ । यि महंगा गाडीलाई महंगो रकम तिरेर भाडामा ल्याई सुटिङ गरेको चलचित्रका निर्देशक आकाश अधिकारी बताउँछन् । किन गाडीकै लागि ठूलो रकम छुट्ट्याएको त ? आकाश थप्छन्, 'हामी सुन्दर र स्मार्ट देखिन जसरी राम्रा र महंगा कपडा लगाउँछौ त्यसैगरी चलचित्र भित्रको सुन्दरताका लागि हामीले गाडीमा कम्प्रमाईज गरेनौं । त्यसैमाथी अमेरिका पुगिसके पछि मरसिडिज र टोयोटाको पछि के लाग्नु ?'
यतिमात्र हैन नेपालमा छायाँकन गरिएको पार्टमा पनि कुनै कम्प्रमाईज नगरिएको आकाश बताउँछन् । उनी भन्छन्, 'चलचित्रको कथा जति मजबुत छ त्यति नै यस भित्र प्रयोग गरिएका प्रोपटिज र लोकेशन सुन्दर र आकर्षक छन् ।' चलचित्रको प्रोपटिजमा मात्र हैन गीतसंगीतमा पनि आकाशले राम्रै रकम खर्चेका छन् । भारतिय चर्चित गायकगायिका सुखबिन्दर सिंह, कैलाश खेर, सुनिधी चौहान, आरती कक्कड, सञ्जिवनी जस्तालाई काठमाण्डूमा समावेश गरिनु चानेचुने कुरा नभएको आकाशको धारणा छ । यि गायकगायिकाको स्वरले पनि चलचित्रको गुणस्तरमा थप टेवा दिएको उनको भनाई छ ।
यता आकाशले पब्लिसिटीमा पनि कुनै कम्प्रमाईज गरेका छैनन् । काठमाण्डू शहरका मुख्य चोक चोकमा ठूला ठूला होर्डिङ बोर्ड अनि मलहरूमा राखिएको डिजिटल स्क्रिनमा राखिएका काठमाण्डूका गीत प्रोमोले पनि बजेटलाई हाई बनाउन सहयोग गरेको छ । पहिलो पटक रेड क्यामेराले चलचित्र खिचेर क्वालिटीमा अर्को ईटा थपेका आकाश बजेट एक करोड भन्दा बढि भए पनि लगानी उठ्नेमा ढुक्क छन् । भन्छन्, 'चलचित्र राम्रो बनाएको छु । अहिलेका दर्शकले चाहेको चलचित्र मैले पस्किने प्रयास गरेको छु । त्यसैले लगानी उठाई फाईदामा जानेमा ढुक्क छु ।'
काठमाण्डौको परिवर्तित दृश्यहरुको सङ्ग्लो ऐनाको रूपमा परिभाषित गरिएको चलचित्र 'काठमाण्डू' मा आकाश अधिकारी, हलिउड कलाकार रिया मार्फी, रेश मरहठ्ठा, प्राप्ति घिमिरे, ममता प्रधान, संयुक्ता राणा, गौरी मल्ल लगायतले अभिनय गरेका छन् । चलचित्रमा राहुल प्रधानको संगीत रहेको छ ।
Creazy girl
Promo