आउँदो शुक्रबारबाट देशभरका अधिकांश सिनेमा घरमा रिलिज हुन लागेको चलचित्र 'परिचय' को पब्लिसिटीका लागि सोही चलचित्रका मुख्य पात्र निखिल उप्रेती र मोनिका बेदी नेपाल आउने या नआउने भन्ने बारेमा अन्यौलता देखिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू रिलिजको पूर्व सन्ध्यामा नेपाल आउने भएका छन् तर अझै यकिनका साथ भने भन्न सक्ने अवस्था छैन ।
चलचित्र सुटिङका लागि केहि महिना अघि नेपाल आएका निखिल अहिले मुम्बईमा नै छन् भने नायिका मोनिका बेदी भारतिय मूलकै हुन् । यसैगरी चलचित्रका निर्देशक आकाश पाण्डे पनि अहिले मुम्बईमा नै छ । उनी पनि केहि दिनमा नेपाल आउने बताईएको छ । अहिले बितरक सुनिल मानन्धरले चलचित्रको प्रचार प्रसारको सम्पूर्ण जिम्मा सम्हालेका छन् ।
करिब ९५ प्रतिशत छायांकन पोखरामा नै गरिएको उक्त चलचित्रमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । थुप्रै हिन्दी सिनेमाहरुमा मुख्य सहायक निर्देशक बनेर काम गरिसकेका निर्देशक आकाश पाण्डेको यो पहिलो नेपाली चलचित्रको निर्देशन हो ।
पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ । संजय नरेन्द्र र सुरेश सुमन यस चलचित्रका निर्माता हुन् ।