निर्देशक तथा नायक आकाश अधिकारीले आफूले निर्माण निर्देशन गरेको चलचित्र 'काठमाण्डू' लाई बिशुद्व नेपाली पन बोकेको चलचित्रको संज्ञा दिएका छन् । आइतवार राजधानीमा पत्रकार सम्मेलको आयोजना गरि अधिकारीले नेपाली चलचित्रकर्मीलाई लाग्ने गरेको चोरीको ट्यागबाट टाढा रहेर काठमाण्डौको दर्पणको रूपमा चलचित्र 'काठमाण्डू' रहेको बताए ।
हरेक अविभावक र युथहरूले हेर्नै पर्ने चलचित्र बनाएको बताउँदै आकाशले भने,'मैले मनै देखि यस्तो चलचित्र बनाएको छु कि जुन चलचित्रलाई अहिलेको युथहरू र छोराछोरी भएका अबिभावकले एकपटक हेर्नै पर्ने हुन्छ ।' कथाबस्तु देखि प्रस्तुती, गीतसंगीत, अभिनय र क्वालिटीका हिसाबले पर्फेक्ट चलचित्र बनेको बताउँदै आकाश बताउँछन् । आगामी नयाँ प्रोजेक्ट 'क्यापिटल' हुने र सो चलचित्रले पनि काठमाण्डूकै जनजीवनलाई प्रस्तुत गर्ने आकाशको भनाई छ । यसैगरी चलचित्रकी अभिनेत्री संयुक्ता राणाले पनि ठूलो पर्दाको पहिलो अनुभव रहेको बताउँदै चलचित्रको कथा र प्रस्तुतीले आफ्नो मन छोएको बताइन् ।
कार्यक्रममा अतिथीको रूपमा निम्त्याईएका चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र 'काठमाण्डू'ले चिसिएको चलचित्र उधोगलाई लूटले तताए जस्तै गरि तताउने आश गर्दै सफलताको कामना गरे । यस्तै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य विकाश आचार्यले आकाशका विगतका चलचित्रले जस्तै यो चलचित्रले पनि सफलता पाउने मा बिश्वास व्यक्त गरे । चलचित्र पत्रकार संघका सदस्य विदूर गिरीले पनि काठमाण्डूले देशबिदेशमा चर्चा पाओस् भन्दै सफलताको कामना गरे ।
यता चलचित्र रिलिजको पूर्व सन्ध्यामा हुन लागेको कलेज स्तरिय ड्रामा कम्पिटिसनको टप ६ स्कुलको नाम सार्वजनिक गर्दै आकाशले ति कलेजले काठमाण्डूको बदलिदो तस्विरलाई काठमाण्डू फिल्मको थिममा रहेर ड्रामा देखाउने बताए । आगामी माघ १८ गते राजधानीमा हुने सो ड्रामा कम्पिटिशनमा एस इन्स्च्युट अफ म्यानेजमेन्ट, रातो बंगला, रिलायन्स इन्टरनेश्नल एकेडेमी,ललित कला, ग्लोबल कलेज र ओस्कार कलेज अन्तिम प्रतिष्पर्धामा भिड्दै छन् ।
चलचित्र विकास बोर्डले बिशेष चलचित्रको मान्यता दिएको 'काठमाण्डू' मा आकाश अधिकारी, रिया मार्फी, रेश मरहठ्ठा, प्राप्ति घिमिरे, ममता प्रधान, संयुक्ता राणा, गौरी मल्ल लगायतले अभिनय गरेका छन् । चलचित्रलाई आकाश अधिकारी र बेन नबिन अधिकारीले संयुक्तरुपमा निर्माण गरेका हुन् । चलचित्रमा राहुल प्रधानको संगीत रहेको छ ।