पेट्रोलियम पदार्थ मूल्य बृद्धीको विरोधमा विद्यार्थीहरुले गरेको राजधानी बन्दले मनोरञ्जनको ब्यापारमा पनि प्रत्यक्ष असर परेको छ । बन्दका कारण शिक्षण संस्था, कलकारखाना ठप्प हुदा दर्शक घरमै बस्न बाध्य भएका छन् भने १६ घण्टे लोडसेडिङले टेलिभिजनबाट समेत दर्शकले चाहेजति मनोरञ्जन लिन सकेका छैनन् ।
नेपाली मनोरञ्जन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १८ हजारको संख्यामा ब्यक्तिहरु आबद्ध भएपनि बन्दको सवैभन्दा मारमा सानो काम गर्ने प्राविधिकहरु परेका छन् । सिनेमाको सुटिङमा ज्यालादारीको रुपमा खट्ने प्राविधिकहरुको संख्या ८ हजार भए पनि दैनिक ज्यालादारीको भरमा काम गर्नेको संख्या ४ हजारको हाराहारीमा रहेकाले बन्दको सवैभन्दा धेरै प्रभाव उनीहरुमा पर्ने गरेको हो । यस्तै यो बन्दले राजधानीका डेढ दर्जन सिनेमा घरमा पनि प्रत्यक्ष असर पुर्याएको छ । नेपाली सिनेमा निरन्तर प्रदर्शन हुने सात वटा थिएटर रहेको गोपीकृष्ण मुभिजका प्रबन्धक प्रदीप दाहालका अनुसार आजको एक दिने बन्दले न्यून्तम ७५ हजार घाटा लागेको उनी बताउछन् ।
यस्तै पछिल्लो समय निर्माताहरुको प्रिय बनेका अष्टनारायण हलका संचालक त्रिरत्न मानन्धरले एकदिने बन्दले आफ्ना तीन थिएटरबाट ४० हजार घाटा लागेको बताए । तर पछिल्लो समय सिनेमा हेर्ने दर्शक घटिरहेको अवस्थामा विगतको बन्द भन्दा यो पटकको बन्दबाट १५ हजार कम घाटा भएको उनले बताए । बन्दको असरले चलचित्र ज्वालाको गीत रकेर्डिङ गर्नबाट बन्चित रहदै बन्द हेर्ने रमिते बनेका निर्देशक ऋषि न्यौपानेलाई बुधबारको बन्दले निकै सास्ती दियो । बालाजुको बाटोमा बन्दको रमिते भईरहेको अवस्थमा भेटिएका न्यौपानले भने, 'आज गित रेकर्डिङ थियो तर पुतलीसडक पुग्न निकै कठिन भएपछी आजको काम नै रोक्नु पर्यो ।'
न्यौपानेलाई मात्र हैन मनोरञ्जन विद्याका प्राय सवै चलचित्रकर्मी बन्दका कारण घरमै बस्न बाध्य भएका छन् । सिनेमा ब्यापार घाटाको आधिकारिक रेकर्ड कतै नभएपनि दैनिक एक करोड बराबारको सिनेमा बिजनेस ट्रान्जेक्सनमा असर पुर् याउने तर्कहरु पनि सिनेमा राजनीतिका पण्डितहरुले बताउछदै आएका छन् । सिनेमा राजनीतिमा पोख्त वितरक सुनिल मानन्धर बुधबारको राजधानी बन्दले निर्माताको शेयरमा पाँच लाख घाटा पर्ने बताउछन् । उनी भन्छन्, 'बन्द भएको दिनको ठूलो असर बन्दको दिन भन्दा भोलिपल्ट र पर्सी पल्ट ज्यादा पर्दा त्यहाँ घाटा बढी हुन्छ ।
हाल फ्लोरमा आधा दर्जन सिनेमा छायाकंनमा रहेकाले एक सिनेमाको सुटिङ स्थगित हुदा न्यूनतम ५० हजार भार निर्माताको टाउकोमा थपिने बताईन्छ । बक्स अफिस तथा सिनेमासंग सम्बन्धीत संघसंथाले एक दिन सिनेमाका गतिविधि नहुदा कति घाटा हुन्छ भन्ने आधिकारिक रेकर्ड नराखेकाले सिनेमाको बिजनेस घाटा नाफाको बिषयमा यसै भन्न सकिने अवस्था छैन तर सिनेमाको ब्यापार राम्रो नभईरहेको अवस्थामा विद्यार्थीहरुरले गरेको बुधबारको बन्दले समग्र मनोरञ्जन विद्याका विविध पक्षलाई आधार मान्दा उद्योगलाई न्यूनतम पनि एक करोड घाटा लाग्ने अनुमान लगाउन सकिन्छ ।