नेपालका विभिन्न भु-भागमा स्याटलाईट प्रविधि मार्फत प्रसारणमा आएको e24 टेलिभिजनले नेपाली चलचित्रको समग्र पक्षलाई समेट्ने भएको छ । नेपाली चलचित्र प्रति दर्शकको प्रतिक्रिया, नेपाली चलचित्रको वर्तमान अवस्था र जानकारीका अलवा चलचित्रका गीतसंगीत प्रस्तुत गर्दै आएको सो टेलिभिजनको प्रसारण हाल चौबिसै घण्टा प्रसारित छ ।
टेलिभिजनमा स्तरीय चलचित्र सम्बन्धी कार्यक्रमहरुको खाँचो भइरहेको वर्तमान अवस्थामा सो टेलिभिजनले नेपाली चलचित्र सम्बन्धी कार्यक्रमलाई पहिलो प्राथमिकता दिने भएको छ । टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता प्रदिप कासपालले छिट्टै नै नेपाली चलचित्र सम्बन्धी थप कार्यक्रम प्रसारण गरिने फिल्मीखवरलाई जानकारी दिए । यस्तै टेलिभिजनका कार्यक्रम उत्पादक दिनेश दुलालका अनुसार चलचित्र सम्बन्धी कार्यक्रमले दर्शक मन जित्न सफल भएकोले यस्तै खालका अन्य कार्यक्रम निर्माण गर्न तर्फ लागि परेको बताए ।
नेपाली चलचित्रको विभिन्न खोजमुलक विषयलाई बिस्तारै समेट्दै जाने दुलालले जानकारी दिए । 'हाम्रो मनभित्र नेपाली चलचित्र' भन्दै हिन्दी चलचित्रलाई प्राथमिकता दिने त होइन भन्ने प्रश्नमा उनले हिन्दी चलचित्रलाई कम प्राथमिकता दिने बताए । नेपाली चलचित्रको बजार केहि फराकिलो हुने अपेक्षा गरिएको वर्तमान अवस्थामा टेलिभिजनबाट प्रसारित कार्यक्रमले चलचित्रको बारेमा सत्यतथ्य जानकारी दिने कुरामा केहि आशावादी हुन सकिन्छ । नेपाली चलचित्रका दर्शक बढाउनका लागि यस्ता कार्यक्रमले थप टेवा पुर्याउने र चलचित्र स्तर वृद्धीका लागि यसले केहि मद्दत पुर्याउने कुरामा दुई मत छैन ।