हुनत उनीहरूले गल्ती केही गरेका थिएनन् तर माघको मध्य जाडोको चिसो साँझमा संगै भेटिएका आर्यन सिग्देल र केकी अधिकारीले मिडिया समक्ष भन्दै थिए 'आई एस सरी' ।
सन्दर्भ थियो आर्यन र केकी अभिनित मेघा बजेटको चलचित्र आई एम सरीको प्रेस मिट । जहाँ चलचित्रको अडियो सिडी लन्च, ट्रेलर र दुईवटा गीत पनि प्रिमियर गरेको थियो । माघ २७ गते देखि देशब्यापी रिलिज हुन लागेको उक्त चलचित्रको उल्टो रिलिज काउन्टडाउन सुरू भएको प्रसंगमा आयोजित प्रेस मिटमा आर्यनले आफूले देखाउन सक्ने सम्पूर्ण अभिनय यो चलचित्रमा देखाएको बताए ।
यस्तै अभिनेत्री केकीले दुई प्रेमिको कथा चलचित्रमा समेटिएकाले फिल्म उत्कृष्ट हुनबाट कमि नरहेको बताईन् । तर कार्यक्रममा गर्जिस भएर आएकी केकी र ह्याण्डसम आर्यन एक अर्कासंग खुलेर बोलेनन् । चलचित्रलाई दिनेश राउतले पहिलो पटक निर्देशन गरेका हुन् र उनलाई निर्देशक बनाउन हरि महतले निर्माता भएर साथ दिएका हुन् । निर्देशक राउतले भने, 'सिनेमा राम्रो बनाएको छु । आशा छ सबैले मन पराउनु हुनेछ ।'
यस्तै फिल्मीखबरले निर्माता महतलाई किन दिनेश जीलाई निर्देशकमा पत्याउनु भयो भन्ने प्रश्नमा भने, 'उहाँमा मैले फिल्म निर्देशन गर्ने उत्साह ज्यादै देखे जुन उत्साहलाई उहाँले साच्चै न्याय पनि गर्नुभएको छ र फिल्म पनि सोचे भन्दा धेरै राम्रो भएको पनि छ ।' डेढ करोडको लागानीमा निर्माण भएको आई एम सरीमा बाघ वितरकले परिचित सुनिल मानन्धरले पनि करिब ५० लाख लगानी गरेका छन् । एक दशक बढी सिनेमा वितरणको अनुभवमा यतिका धेरै रकम किन लगानी भन्ने प्रश्नमा उनले भने, 'सिनेमामा सानो सानो कुरामा कम्प्रमाईज नगर्दा लगानी बढेको त्यसकारण यो सिनेमा कुनै पनि हालतमा हिट हुनैपर्छ ।' मानन्धरले हाल सम्म नेपाली सिनेमा यतिको स्टयाण्डर्ड नबनेको पनि दावी गरेका छन् ।
सिनेमाको सम्पूर्ण ईनडोर सुटिङ सेट बनाएर गरिएको थियो । क्यामेरापर्सन पुरूषोत्तम प्रधानले आफ्नो कलालाई यो सिनेमामा अझै निखारेको बताईएको छ । छायाकंनको बिषयमा फिल्मीखबरसंग पुरूषोत्तमले भने, 'मैले काम गरेका अन्य सिनेमा भन्दा यो सिनेमामा क्यामेराको प्रयोग पनि भिन्न ढङ्गको छ । त्यसैले सिनेमा हरेक पक्षबाट राम्रो छ ।' चलचित्रमा बिएस राणा, श्याम अर्याल पनि मुख्य भूमिकामा छन् । भब्य तरिकाले सिनेमा खिचेको बताएको उक्त यूनिटले प्रेसमिट अन्य सिनेमाको प्रिमियर माहोल जस्तै रेडकार्पेट ओच्छाएर भब्य ढङ्गले गरेको थियो ।