मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चलले सिकाएको गतिलो पाठ

सुमन वाग्ले, काठमाण्डौ, 2012/01/28

चलचित्र लुटले राम्रो व्यापार गरेको हल्लाले पछिल्लो समयमा निकै चर्चा पाईरहेको छ । लुटको व्यापारको चर्चासँगै निर्देशक निश्चल बस्नेतको निर्देशकीय क्षमताको तारिफ पनि चारैतिर भईरहेको छ । नवनिर्देशकहरूको बजेट धेरै हुने तर चलचित्र कम चल्ने आरोप आईरहेका बेला  कम बजेटमा राम्रो चलचित्र बनाएर देखाएका निश्चलले भने ति नवनिर्देशकलाई  गतिलो पाठ सिकाएको देखिन्छ ।

 

म्युजिक भिडियो निर्देशन गरिरहेका आलोक नेम्वाङले पहिलो पटक डिजिटल चलचित्र 'सानो संसार' बाट निर्देशनमा डेब्यू गरे । उनको सो चलचित्रले युवापुस्ताको मन जिते र त्यसपछि उनले चलचित्र कोही मेरो निर्देशन गरे । निकै हाईबजेटको चलचित्र 'कोही मेरो' ले भने निर्मातालाई खुसी बनाउन सकेन ।  हाल म्युजिक भिडियोमा नै रमाइरहेका आलोक तत्काल चलचित्र मुडमा पुगेका छैनन् ।

 

यस्तै निरक पौडेलले चलचित्र कुसुमे रुमाल २ बाट निर्देशनमा डेब्यू गरे । सो चलचित्रले सोचे अनुरुपको सफलता पाउन सकेन । अहिलेसम्ममा उनी गुमनाम जस्तै बनेर बसेका छन् ।  पहिलो पटक चलचित्र स्वर निर्देशन गरेका प्रसन्न पौडेलको म्युजिक भिडियोमा राम्रो अनुभव भएपनि चलचित्रमा भने खासै जम्न सकेनन् । प्रशन्नले पहिलो चलचित्रबाट निर्मातालाई प्रशन्न बनाउन नसकेको पक्कै हो । अहिले उनी अर्को चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' को रिलिज तयारीमा छन् । कम बजेटको यो चलचित्रबाट भने उनी निकै आशावादी छन् ।

 

चलचित्र द युगदेखि युगसम्म निर्देशन गरि नेपाली चलचित्रमा प्रवेश गरेका दिपेन्द्र के. खनालले पनि सो चलचित्रबाट राम्रो तारिफ पाउन सकेनन् । त्यसपछि उनले मनिषा कोईरालालाई कम व्याक गराउँदै बिग बजेटमा 'धर्मा' चलचित्र निर्देशन गरे । चलचित्र र दिपेन्द्रको चर्चा राम्रै भयो तर निर्माता भने हाँस्न सकेनन् । हाल चलचित्र चपली हाइटको पोस्टर एक हलिउड चलचित्रबाट  कपि गरेको कारणले गर्दा उनी विवादित बनेका छन् । तर पनि निकै कम बजेटमा निर्माण गरिएको यस चलचित्रले भने निर्मातालाई खुसी बनाउने मात्र हैन दिपेन्द्रको पनि करियर राम्रै हुने आश गरिएको छ । तर पोस्टर बिबादले उनी माथी केहि शसंकित भने बनाएकै छ ।

 

अर्का नव निर्देशक सिमोसले  पहिलो पटक डिजिटल चलचित्र मिशन पैसा निर्देशन गरे । उनी पनि पहिलो चलचित्रबाट सफल हुन सकेनन् तर दोस्रो चलचित्र 'फस्ट लभ' ले उनको सम्भावनाको ढोका खोलीदियो । यस्तै चलचित्र 'मेरो एउटा साथी छ' मार्फत नेपाली चलचित्रमा प्रवेश गरेका निर्देशक सुर्दशन थापाले सुरुमा राम्रै तारिफ पाए । त्यसपछिका दुई बिग बजेट चलचित्र 'के यो माया हो' र 'मेरो लभ स्टोरी' असफल भएपछि उनको करियरमा नै धक्का लाग्यो ।

 

यस्तै अर्का नवनिर्देशक सुरेश दर्पण पोखरेलको पहिलो चलचित्र 'निशाना' ले व्यापारिक सफलता हात पारेपनि त्यसपछिका दुई चलचित्रबाट दर्शक सन्तुष्ट हुन सकेनन् । हाल उनी चौथो चलचित्र 'मिस यू' को रिलिजको दौडधुपमा छन् । यसबाट सुरेश मात्र हैन उधोगनै आशावादी देखिएको छ । हेरौं सुरेशको यो चलचित्रले उनलाई कुन मोडमा पुर्‍याउने हो ।
 

दिन प्रतिदिन केहि  फराकिलो बन्दै गएको चलचित्र बजारलाई नवनिर्देशकहरुले अझ बृहत र फराकिलो बनाउन सक्ने आश गरिएको अवस्थामा निराशामा नै बस्नु परेको तितो यथार्थ यस उधोगसँग छ । नवनिर्देशकहरुको स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट आगामी दिनमा नेपाली दर्शकका लागी लूट जस्ता नौला र राम्रा चलचित्र आउन सक्ने आश भने गरिएको छ र यो आश अझै केहि बर्ष टिक्ने नै छ । निभ्न लागेको यो आशलाई केहि राहत दिन हाम्रा यि नवनिर्देशकहरूले एक पटक राम्रैसँग सोच्नु पर्ने बेला आएको छ ।