
राजधानीबाट राम्रै प्रतिक्रिया पाएको चलचित्र 'काठमाण्डू' ले बुटवलमा पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । बुटवलको मिलन हलमा शुक्रबारबाट प्रदर्शनमा आएको सो चलचित्रले सोचे भन्दा राम्रो कलेक्सन गरेको हल म्यानेजर कमल पाठकले जानकारी गराए ।
बुटवलमा शुक्रबारबाट नै माई लाईफ र हिन्दी चलचित्र एजेन्ट बिनोद लागेका छन् तर कलेक्सनमा काठमाण्डू अगाडी देखिएको बुटवल पुगेका निर्देशक आकाश अधिकारीले बताए । उनले भने, 'राजधानी बाहिर सबै ठाउँमा राम्रो प्रतिक्रिया पाएको थिएँ तर यहाँ अझ बढि राम्रो प्रतिक्रिया पाएँ ।' चलचित्रलाई किशोर किशोरी, युवायुवती मात्र नभई बृद्दहरूले पनि मनपराएका थिए ।
चलचित्र हेरिसके पछि हल प्राङ्गणमा दर्शकदिर्घा माझ घेरिएका आकाशले सोधेका थिए, 'फिल्म कस्तो लाग्यो ?' आकाशको प्रश्न झर्न नपाउँदै दर्शकले एकै स्वरमा भनेका थिए, 'दामी' । चलचित्रले उठान गरेको बिषयबस्तु देखि हरेक पक्ष मन परेको दर्शकले बताए । चलचित्रको युनिटका साथ बुटवल पुगेका आकाशलाई अटोग्राफ दिन हम्मे हम्मे परेको थियो ।
पोखरा, घोराही, तुल्सीपुर, नेपालगंज, महेन्द्रनगर लगायतका शहरमा प्रदर्शन भईसकेको काठमाण्डू आगामी साता नारायणगढ र धरानमा पनि चल्दैछ । यसैगरी पूर्वका स्टेशनहरूमा पनि चलचित्रलाई बिस्तारै चलाउने निर्देशक अधिकारीले बताए ।