करियोग्राफी विद्यामा जमिरहेका बेला दुई महिना अघि अचानक सन्यास घोषणा गरेका गोविन्द राई फिल्म निर्देशक भएर आउने निश्चित भएको छ ।
गोविन्दले आफ्नो परिकल्पनामा चर्चित फिल्म समिक्षक दिपेन्द्र लामाले तयार गरेको स्क्रिप्टमा 'नागबेली' भन्ने फिल्म निर्देशन गर्न लागेका हुन् । जसको शुभ मुहुर्त आउने लक्ष्मी पुजाको दिन गर्न लागेको उनले जानकारी दिए । 'कोरियोग्राफीबाट सन्यास घोषणा गर्नुको कारण निर्देशक नै बन्छु भनेर हो त्यसैले त्यतिबेला सो कुरालाई लिएर विभिन्न हल्लाहरु फैलाईए तर त्यसो थिएन', फिल्मीखबरसंगको कुराकानीमा उनले भने ।
नागबेली अहिलेको परिस्थितीमा राष्ट्रियता बोकेका युवाहरुको पिढाले भरिएको फिल्म भनेका छन् राईले । झण्डै डेढ दशकको फिल्मी करिअरमा उनले १ सय बढी फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन् जुन अनुभवलाई उनले फिल्म निर्देशक भएर उर्तान लागेको बताए । उनले नृत्य निर्देशनबाट सन्यास घोषणा गरेपनि आफ्नो फिल्मको नृत्य निर्देशन आफैले गर्ने बताए । 'यो मेरो फिल्म हो त्यसैले म आफै गर्छु तर अब अरुको फिल्ममा गर्दिन होला', उनले भने ।
आफु निकट एक धर्म बहिनी जसलाई उनी धर्म चेली भन्छन् उनैको लगानीमा गोविन्दले फिल्म निर्देशन गर्न लागेका हुन् । यो फिल्ममा अभिनेत्री मौसमी मल्लको छोरा विक्की र विक्की संगै पहिलो पटक समय भन्ने फिल्मबाट डेब्यू गरेकी सुरभी बिष्ट तथा हर्षिका श्रेष्ठ सहित यसराजको साथमा नयाँ हिरोको रुपमा सम्भव श्रेष्ठ पनि लिड रोलमा रहने छन् । गोविन्दका अनुसार गायक तथा नायक प्रशान्त तामाङ पनि लिड रोलमा खेल्ने करिब निश्चित छ ।