कोरियोग्राफीमा सन्यास घोषणा गर्दै निर्देशक बन्ने उदघोष गरेका गोविन्द राईले आफ्नो फिल्म 'नागबेली' को शुभमुहुर्त गरेका छन् । लक्ष्मी पुजाको दिनको उत्तम साईतमा उनले आज मध्यान्न मैतिदेवी मन्दिरमा फिल्मको शुभमुहुर्त गरेका हुन् ।
निर्माता संघका अध्यक्ष लगायत केही फिल्मकर्मीको शुभमुर्हत निर्देशनमा आफ्ना दुई हिरो यसराज र विक्की मल्लको हातबाट परेवा उडाउदै राईले फिल्मको मुहुर्त गरेका थिए । हरेक नेपालीको कथा भनिएको नागबेलीमा रोमियन लिम्बु र मनकुमार चेम्जोङको लगानी रहने बताईएको छ ।
मंसिर २४ देखि फ्लोरमा जाने यो फिल्मका स्क्रिप्ट राईटर फिल्म समिक्षक दिपेन्द्र लामा हुन् । दिपेन्द्रले पनि पहिलो पटक फिचर फिल्मका लागि स्क्रिप्ट लेखेका हुन् । निर्देशक गोविन्दलाई जस्तै उनलाई पनि यो फिल्मको रिजल्ट एक किसिमको चुनौतीको रुपमा देखा पर्ने निश्चित छ । फिल्ममा हर्षिका श्रेष्ठ, सुरभी जैन, शिशिर राणा, अशोक फुयाल तथा नयाँ प्रस्तुतीमा संभव श्रेष्ठ र उर्मिला सापकोटा पनि लिड रोलमा रहने छन् ।
फर्मुला भित्रै रहेर निर्माण हुने यो फिल्ममा रोशन श्रेष्ठको फाईट हुनेछ भने टुके क्यामेराले फिल्म खिच्ने काम रामशरण उप्रेतीले गर्ने छन् । यस्तै यो फिल्ममा गोविन्दका हितैषी मित्र लोकेश थापाले मेकअपको जिम्मा लिदैछन् । लोकेशले पछिल्लो केही बर्षदेखि फिल्ममा काम गर्न छाडेका थिए ।