हिन्दु नारीको लागी साउन व्रतको महिना मानिन्छ । साउन महिनाको प्रत्येक सोमबार खाली पेट बसेर शिवजीको पूजा गर्ने, शाकाहारी बन्ने, हातमा हरियो चुरा तथा मेहेन्दी लगाउने हिन्दु नारीका विशेषता हुन् । पारिवारिक सुखको कामना, भने जस्तो जीवन साथी र स्वस्थकर जीवन शैलीमा उपयुक्त मानिएको साउने व्रतलाई नेपाली अभिनेत्रीले कसरी लिन्छन् ? फिल्मीखबरले केही अभिनेत्रीसँग साउने ब्रत, हरियो चुरा तथा मेहेन्दीको विषयमा कुराकानी गरेको छ -
अभिनेत्री रेखा थापा साउनलाई आत्मा शुद्धिकरण गर्ने महिनाको रुपमा लिन्छिन् । प्रत्येक मंगलबार महादेवको व्रत बस्दै आएकी रेखा साउनमा सोमबारको ब्रत पनि लिने बताउँछिन् । तर, हप्ताको दुई वटा ब्रत केका लागी ? काली रेखा भन्छिन्- 'म आफ्नै शरिर र आत्माको लागी ब्रत बस्छु । आफ्नो पेट भोको राखेर पति र परिवारको सुख शान्तिको लागी कामना गर्नु भनेको ढोंगी प्रवृत्ती हो ।' विगत आठ वर्ष देखी साउनको ब्रत बस्दै आएकी रेखाले साउन महिना पुरै हातमा हरियो चुरा र मेहेन्दी लगाउने छिन् । रेखा भन्छिन्- साउन महिनाको ब्रतले सकारात्मक शक्ति प्राप्तीलाई मद्धत गर्छ ।'
त्यस्तै अभिनेत्री झरना थापा भने यस वर्ष साउने ब्रत बस्ने मुडमा छैनन् । बिबाह भएको सालदेखी नै साउनमा ब्रत बस्ते तथा हरियो चुरा र मेहेन्दी लगाउने संस्कारलाई निरन्तरता दिदै आएकी झरना यस वर्ष भने सासु बेपत्ता भएको शोकमा छिन् । भारतको केदारनाथ मन्दिरमा दर्शन गर्न गएकी सासु बाढीमा बेपत्ता भएपछि झरनाको घर शोकमा डुबेको हो । झरना भन्छिन्- 'मनमा नै खुसी नभएपछि ब्रत बसेर ध्यान पूजा गर्नु महत्व नै के रह्यो र ?'
महसुश रिलिजको (साउन ३२) पर्खाइमा रहेकी अभिनेत्री केकी अधिकारी भने साउन महिना पुरै शाकाहारी हुनेछिन् । चार वर्षदेखी साउनको सोमबार भोकै बस्दै आएकी केकी ब्रत केका लागी बस्छिन् त ? उनले सुनाइन्- 'पक्कै पनि राम्रो श्रीमान पाउँ भनेर नै ब्रत बस्छु ।' केकी आफ्नो जीवनसाथी भलाद्मी र समझदार हुनुपर्ने बताउँछिन् ।
फिल्म मौन र मेघा रिलिजको पर्खाइमा रहेकी अभिनेत्री नम्रता श्रेष्ठले भने अहिले सम्म साउनको ब्रत लिएकी छैनन् । नम्रता भन्छिन्- 'म खाली पेट बसेर धर्म हुन्छ भन्नेमा विश्वास गर्दिन । मन लगाएर गरेका हरेक काम सफल हुन्छन् ।' नम्रताले साउनमा हरियो चुरा र मेहेन्दी पनि लगाउने छैनन् । कारणबारे नम्रता भन्छिन्- 'कलाकार भएपछि कहाँ आफ्नो ईच्छाले चल्न पाइन्छ र ? पर्दामा पात्र अनुसारको गेटअप गर्नुपर्छ, त्यसकारण चुरा र मेहेन्दी मन भएर पनि लगाउन पाईंदैन ।'
त्यस्तै रंगमञ्च हुँदै फिचर फिल्ममा व्यस्तता बढाउँदै गरेकी सरिता गिरी भने साउनको ब्रतलाई शरीरको वजन घटाउने उपयुक्त अवसरका रुपमा लिन्छिन् । मण्डला नाटक घरमा नाटक मञ्चनमा व्यस्त रहेकी सरिता भन्छिन्- 'ब्रत भनेपछि अन्न खाने त कुरै आएन । अर्कोकुरा साउन एक महिना भर मासु नखांदा शरिर पनि स्लिम हुन्छ । फिल्म र नाटक परेन भने मेहेन्दी र चुरा लगाउन मन पराउँछु ।'
अभिनेत्री सुमिना घिमिरेलाई साउन महिनाको खासै महत्व छैन । सुमिनाले अहिले सम्म एउटा पनि साउनको ब्रत लिएकी छैनन् । भिमदत्तको सुटिङ सकाएकी सुमिना हरियो चुरा र मेहेन्दीको पनि खासै सौखिन हैनन् । हट छविलाई मेटाउने प्रयास गरिरहेकी सुमिना भन्छिन्- 'खाली पेट बसेर हुने चाहि के हो र ?'