
कानुनको सम्मान गर्दै हाँस्य कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले मादक पदार्थ सेवन (मापसे) कक्षा लिएका छन् । दिपा र दिपकले हिजो (असोज १ गते) साँझ महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा १ घण्टाको चेतनामुलक कक्षा लिएका हुन् ।
कक्षा लिए सँगै एक-एक हजार जरिवाना तिरेपछि उनीहरुले प्वाल पारिएको लाइसेन्स फिर्ता पाएका छन् । महानगरीय ट्राफिक प्रहरीको कक्षा लिएपछि फिल्मीखबर समक्ष दिपा आफ्नो अनुभव सुनाइन्- 'सडक दुर्घटना सम्बन्धी विभिन्न भिडियो सामाग्री देखाइयो ।' उनले हाँस्दै थपिन्- 'फिल्मको प्रिमियरमा सहभागी भए जस्तो महसुश भयो ।' व्यस्तताले गर्दा मापासे कक्षामा सुहभागी हुन नसकेको दिपाले बताईन् ।
डिआइजी केशव अधिकारीले मिडियामा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै दिपाले भनिन्- 'हामी कानुनको सम्मान गर्छौ । तर, डिआइजीले हाम्रो नाम उल्लेख गरेर मिडियामा दिएको अन्र्तवार्ता प्रति हाम्रो आपत्ति हो । हामीले नियम मिचेका हौं, अपराध गरेका हैनौं ।' यही सोमबार मात्रै कलाकार गिरीले फेसबुक मार्फत प्रेस विज्ञप्ती जारी गर्दै डिआइजी अधिकारीले मिडियामा लाइसेन्स समातिएको बारे अन्र्तवार्ता दिएर आफ्नो बदनाम गर्न खोजेको धारणा सार्वजनिक गरेका थिए ।
पूर्व डिआइजी उपेन्द्रकान्त अर्यालसँग मादक पदार्थ सेवन सम्बन्धी सित्तैमा प्रचार सामाग्री निर्माण गर्ने सर्तमा लाइसेन्स फिर्ता दिने सहमती भएको थियो । यद्पी वर्तमान डिआइजी अधिकारीले पहिलाको सम्झौता बारे आफुलाई मतलब नभएको भन्दै दिपा दिपकले कक्षा लिएर जरिवाना तिरेरै लाइसेन्स फिर्ता लैजानु पर्ने अड्डी कसेका थिए । यही अड्डीले दिपा दिपकलाई महानगरीय ट्राफिक महाशाखासम्म पुर्यायो ।