
फिल्म 'मधुमास' मोफसलका केही र काठमाण्डौको दुई दर्जन जति मल्टिप्लेक्स स्टेशनहरुमा प्रदर्शन भैरहेको छ । फिल्म हिट कि फल्प ? निर्माताको हातमा व्यापारको एकमुस्ट हिसाब नआइ सकेकाले हिट या फल्प भन्न सकिंदैन ।
सुदर्शन थापा निर्देशित 'मधुमास' अर्थात् हनिमुनले सोच अनुरुपको दर्शक हलमा तान्न नसकेको बुझिएको छ । फिल्मको व्यापार सोचे अनुरुपको नभएतापनि फिल्ममा राघवको भुमिका निभाएका मनोज आरसीले भने दर्शक तथा शुभचिन्तकबाट नसोचेको प्रतिक्रिया पाइरहेका छन् । करिब ११ वर्ष अघि शहिदहरुको कथा माथि निर्माण भएको 'विर गणेशमान' नामक ऐतिहासिक फिल्ममा गंगालाल श्रेष्ठको भुमिका निभाएर अभिनय यात्रामा प्रवेश गरेका मनोजले फिल्मका मुख्य पात्र आर्यन सिग्देललाई समेत छायाँमा पारिदिए ।
फिल्म हेरेर अभिनयको विश्लेषण गर्ने भन्छन्- 'क्यारेक्टरमा आर्यन भन्दा मनोज डुवेका छन् ।' जाजरकोट जन्मथलो भएका मनोजले फिल्मीखबरसँग आफ्नो खुसी यसरी साटे- 'अहिले प्रशंशा र बधाईको ओइरो लागेको छ । फिल्म 'मधुमास'बाट राम्रो प्रतिक्रिया पाउने आशा थियो तर, यति धेरै चाहि होइन ।'
दैनिक जीवनमा नम्र र भद्र व्यवहारका मनोज फिल्म 'मधुमास'मा भने रिसाहा क्यारेक्टरमा प्रस्तुत भएका छन् । भन्छन्- 'क्यारेक्टरमा डुव्न ३ महिना जति त घर परिवार तथा साथी सर्कलसँग बोल्दा झर्केर बोल्ने गर्दथें । माइन्ड नगर्न सबैलाई अनुरोध गरेको थिएँ ।' केही वर्षदेखि राजधानीलाई कर्मथलो बनाउँदै आएका मनोजले ११ वर्षको बिचमा निर्देशक मनोज पण्डितको 'लक्ष्य' र 'सिमाला'मा अभिनय गरे । यी फिल्ममा पनि मनोजको अभिनयको राम्रै तारिफ भयो ।
'मधुमासको जतिको चाहिं हैन', विवाहित मनोजले उत्साहित हुंदै भने- 'अहिलेसम्म गरेको परिश्रमको फल पाएको छु । अब आफ्नो भविष्य उज्यालो होला जस्तो लागेको छ ।' चीन र भारतले मिच्दै आएको नेपालको सिमानाको विषय माथि निर्देशक मनोज पण्डितसँग मिलेर द ग्रेटर नेपाल नामक डकुमेन्ट्री निर्माण गरेका मनोज वर्षमा दुई भन्दा बढी फिल्म नखेल्ने बताउँछन् । भन्छन्- 'मलाई फिल्म खेलेर दिनरात व्यस्त हुन छैन । वर्षमा २ वटा विग व्यानरका फिल्म भए पुग्छ ।'
अभिनयको प्रशिक्षण सहित फिल्ममा आवश्यक स्टन्डका कक्षा समेत लिएका मनोज अपिल विष्ट कम्पनीले निर्माण गर्ने 'प्रताप'मा मुख्य कलाकारका रुपमा अनुबन्धीत भैसकेका छन् । जुन फिल्म फ्लोरमा जाने गृहकार्य गर्दैछ । 'प्रताप'सँगै अन्य फिल्ममा समेत काम गर्ने कुरा भैरहेको जानकारी दिने मनोज भन्छन्- 'यो मेरो सफलताको श्रेय मेरो मिहेनतमा जोडिने सबैलाई दिन चाहान्छु ।'