
पूर्व मिस नेपाल उषा खड्गीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’बाट उनी अभिनेत्री बन्न लागेकी हुन् । फिल्मका निर्देशक तथा लेखक दीवाकर भट्टराईले महत्त्वपूर्ण भूमिकामा उनलाई अनुबन्ध गरेको जानकारी दिए । उनको जोडी कोसँग बाँधिनेछ, त्यो भने खुलाइएको छैन । उनी फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

फिल्म रिलिज संघारमा हुँदा कलाकारको प्रेम चर्चा चल्नु नौलो होइन । तर, यो चर्चा दुई प्रकारको हुने गर्छ । एउटा नियोजित हुन्छ, जसको उद्देश्य भनेको प्रेमको हल्ला फैलाएर फिल्मको प्रचार गर्नु हो । अर्को चाहिँ वास्तविक प्रेम नै हुन्छ । तर, वास्तविक प्रेम भए पनि फिल्म रिलिज नहुँदासम्म मात्र त्यो टिकेको पाइन्छ । जब फिल्म रिलिज हुन्छ, तब बालुवाको घरजसरी सम्बन्ध पनि भत्किन्छ ।

अभिनेत्री अरुणिमा लम्सालले एक दशकपछि अभिनयमा पुनरागमन गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर मंगलबार सार्वजनिक गरिएको छ । दुई मिनेट लामो टिजरमा नेपालबाट छोरी भेट्न पहिलो पटक अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा देख्न सकिन्छ । अरुणिमाको जोडी भएर अभिनेता विमलेश अधिकारीले अभिनय गरेका छन् ।

संविधान दिवसको दिन पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र वियोगलाई प्राथमिकता दिइएको छ । सशस्त्र द्वन्द्वको छायाँमा अंकुराएको एक जोडीको प्रेमलाई ट्रेलरले देखाउँछ ।

दशैंको छेको पारेर आगामी असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामो ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाई र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । वैदेशिक रोजगारीको बाध्यता, विवाहको दबाब जस्ता पक्षलाई पनि ट्रेलरले देखाउन खोजेको छ ।

चाँडै निर्माणको तयारीमा रहेको फिल्म ‘डिएनए’बाट सुधन पोखरेलले अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । मंगलबार उनलाई चित्रित गर्दै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सुधन अँध्यारो कोठाभित्र चम्किलो किरण फ्याँकिरहेको एक बाकसमा हेरिरहेका छन्, जहाँ पौराणिक वस्तु हुनसक्ने अनुमान गर्न सकिन्छ । रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन् ।