अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो । माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने फिल्म द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ ।
जय राज रायको लेखन तथा निर्देशनमा फिल्म ‘म्याउँ’ निर्माण हुने भएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा विरालोको आँखालाई चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीर देखाउँदै सर्टलेस अवतारमा प्रस्तुत छन् । उनको अनुहार भने देखाइएको छैन ।
‘झिंगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’को माघे संक्रान्तिको अवसर पारेर सोमबार चारवटा पोस्टर सार्वजनिक गरिएको छ । कलाकारको चरित्रचित्रण गरिएको एउटा पोस्टरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छिन् । उनले काँधमा थर्मस भिरेकी छन् भने चियाको कप पनि बोकेकी छन् । रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ ।
राजु गिरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘ईश्वर’को तालनगरी पोखरास्थित बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शनिबार बिहान गरिएको मुहूर्तमा निर्देशक गिरीसहित अभिनेता पृथ्वीराज प्रसाईं लगायत उपस्थित थिए । कास्की जिल्लामा छायांकन हुने फिल्ममा माओत्से गुरुङलाई पनि मुख्य भूमिकामा अनुबिन्धत गरिएको निर्देशक गिरीले जानकारी दिए ।
केही वर्षयता तेलुगू फिल्मले व्यावसायिक हिसाबमा ठूलो सफलता हासिल गरिरहेका छन् । यसबीच, यही शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को तेलुगू फिल्म ‘हनुमान’ले पनि सफलताको संकेत गरेको छ । २५ करोड भारुमा निर्माण भएको फिल्मले प्रदर्शनको दुई दिनमा ‘पेड प्रिभ्यूज्’सहित तेलुगू, कन्नड, तमिल, मलयालम र हिन्दी भाषामा गरी कूल २४ करोड ७ लाख कमाइसकेको छ ।
नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिरहेको समयमा अब ‘एक्सन स्टार’ विराज भट्टका छोरा पनि हिरो बन्ने भएका छन् । विराजले आफ्नो निर्देशन तथा निर्माण रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट जेठो छोरा समीर भट्टलाई हिरो बनाउन लागेका हुन् । विगत १० वर्षदेखि समीरले मुम्बईमा बसेर अभिनयसँगै मार्सल आर्टको तालिम लिइसकेको जनाइएको छ । उनी उमेरले २४ वर्षका छन् ।