
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति तय नहुँदै ओभरसिज राइट्स बिक्री हुन थालेको छ । त्यसको सुरुवात जापानबाट भएको छ । गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो । फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ ।

फिल्मसम्मको यात्रा तय गर्न म्यूजिक भिडियो बलियो खुड्किलो मानिन्छ । त्यसैको जगमा उभिएर धेरैले ठूलो पर्दामा देखिने आफ्नो सपना साकार गरेका छन् । पल शाहदेखि पूजा शर्मासम्म म्यूजिक भिडियोबाटै आएका कलाकार हुन् । तर, म्यूजिक भिडियोबाट उदाएका एकाधले मात्र फिल्ममा मुख्य भूमिकामा काम गर्ने अवसर पाउँछन् । नभए त प्रायः सहायक भूमिकामा सीमित रहन्छन् ।

डिजिटल युगको प्रारम्भसँगै नेपाली फिल्मका लागि दुर्लभ बनेको प्रदर्शनको ५१औं दिने यात्रा फिल्म ‘महाजात्रा’ले सहजै पूरा गरेको छ । गत वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार काठमाडौं र मोफसल गरी ९ वटा हलमा ५१औं दिन मनाएको हो । गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’पछि धेरै हलमा ५१औं दिन मनाउने फिल्मको रेकर्ड समेत ‘महाजात्रा’ले राखेको छ ।


उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन । रिलिजपूर्व १० करोडको आँकडा नघाउने प्रक्षेपण गरिएको फिल्मको व्यापार कछुवाको गतिमा छ । यद्यपि, पहिलो हप्ता फिल्मले सुखद अंक जोडेको देखिन्छ । एक हप्तामा फिल्मले ३ करोड २० लाख कमाएको निर्माण टिमको दाबी छ । ‘वर्ड अफ माउथ’ अब्बल प्राप्त भएकाले व्यापार बढ्ने विश्वास अझै निर्मातामा देखिएको छ ।

अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीले फिल्म ‘एक्टर’को छायांकन सुरु गरेका छन् । पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।