
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन आक्रामक व्यापार गर्यो । विशेषगरी नयाँ वर्षमा फिल्मको व्यापारमा उछाल देखिएको थियो । आइतबारबाट कामकाजी दिन सुरु भएकाले व्यापारमा केही ह्रास आएको छ । यद्यपि, प्राप्त शोजमा अकुपेन्सी सुखद् देखिन्छ । बुधबार राम नवमीको विदा भएकाले फिल्मको व्यापारमा फाइदा पुग्न सक्नेछ ।

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई पूर्ण विराम लगाएपछि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच बोलचाल समेत बन्द भएको थियो । तर, ब्रेकअपपछि पनि उनीहरु फिल्ममा फेरि एकसाथ काम गर्न तयार भएका छन् । ‘छड्के’ निर्देशक निगम श्रेष्ठको नयाँ फिल्म ‘भाइरल गोर्खे’मा उनीहरुको जोडी बाँधिन लागेको हो । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै यो फिल्मको घोषणा गरियो ।

ग्रामीण क्षेत्रमा नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तेस्रो संस्करण यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना हुँदैछ । त्यसका लागि महोत्सवमा छानिएका फिल्मको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा ‘प्रि-इभेन्ट’ आयोजना गर्दै महोत्सवमा कूल २० वटा फिल्म छनोट भएको जानकारी गराइयो ।

अर्जुन सुवेदीले गत वर्षको फागुनमा रिलिज भएको ग्याङस्टार फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म व्यावसायिक रुपमा असफल भए पनि उनको कथावाचन शैली र क्षमताको समीक्षकले प्रशंसा गरेका थिए । पहिलो फिल्मबाटै निर्देशनमा राम्रो सम्भावना देखाएका उनी अब अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले दोस्रो फिल्म लभस्टोरी कथामा बनाउन लागेका हुन् ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’बाट डेब्यूको तयारीमा छिन् । बाल्यकालदेखि नै अमेरिका बस्दै आएकी उनी फिल्ममा काम गर्नका लागि गत चैत दोस्रो साता काठमाडौं आइसकेकी छन् । यतिबेला उनले फिल्मको वर्कसपसँगै जिममा वर्कआउट पनि गरिरहेको जानकारी प्राप्त छ । यही बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

सन्तान हुर्किएपछि अभिनेत्री ऋचा शर्माको फिल्ममा पुनः व्यस्तता बढेको छ । गत वर्ष तीनवटा फिल्ममा काम गरेकी उनको यस वर्षको सुरुवात फिल्म ‘सारंग’बाट भएको छ । उनले आइतबारबाट फिल्मको छायांकन सुरु गरेकी हुन् । कोटेश्वरस्थित कान्जिरोवा स्कुलमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको सुटिङ सेड्युल एक महिनाको राखिएको छ ।