
यही माघ २५ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ममी’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर-थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । फिल्म हेरेका धेरैले फेसबुकमा पनि यही वाक्य उल्लेख गरेका छन् ।

भोलि शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिका निभाएकी छन् । अझ भनौं, उनी फिल्मकी सोलो अभिनेत्री हुन् । लामो समयपछि शीर्ष भूमिकामा काम गरेकी उनले यसमा आमाको भूमिका निभाएकी छन् । वास्तविक जीवनमा पनि आमा बनिसकेकी उनले यो फिल्मलाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ मानेकी छन् ।

दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसन र मधेशमा चर्किएको आन्दोलनलाई चित्रण गरेको छ । फिल्मले ०६३/०६४ सालमा भएको मधेश आन्दोलनको समयको कथा भन्ने टिजरले संकेत गर्छ ।

ब्लकबस्टर फिल्म ‘महापुरुष’बाट अभिनेताको रुपमा डेब्यु गरेका अरुण क्षेत्री अब एक्सन फिल्म ‘हन्टर’मा देखिने तयारीमा छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनाव मुद्रामा देखिएका छन् । उनको अनुहारमा चोटको निशान छ । यसले फिल्ममा उनी एक्सन भूमिकामा देखिन लागेको संकेत गर्छ ।

कहिले बायोपिक त कहिले युद्धको कथामा फिल्म बनाएर भर्सटायल निर्देशकको रुपमा चिनिएका मिलन चाम्सले अब लभस्टोरी फिल्म ‘सुम्निमा’ बनाउने भएका छन् । उनले बुधबार एक पोस्टरमार्फत् उक्त फिल्मको निर्माण घोषणा गरे । उनका अनुसार यो विशुद्ध प्रेमकथामा आधारित भएर बन्नेछ । निर्देशनको हिसाबले यो उनको ११औं फिल्म हुनेछ ।

नेपालको हकमा फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाउनु व्यापारिक दृष्टिकोणले राम्रो मानिँदैन । किनकि, एडल्ट फिल्म हेर्ने जमात ठूलो छैन । जसले गर्दा यस्ता फिल्मलाई लगानी उठाउन निकै समस्या हुने गरेको छ । यद्यपि, जोखिम उठाएरै भए पनि मेकरहरूले एडल्ट कन्टेन्टमा फिल्म बनाइरहेका हुन्छन् । यही शुक्रबार प्रदर्शन हुन लागेको फिल्म ‘ममी’ पनि एडल्ट बनेको छ ।