
गत माघ ४ गते प्रदर्शित फिल्म ‘एक्टर’सँग नाम मिलेको विषयमा विवाद उत्पन्न भएपछि काठमाडौं जिल्ला अदालतको आदेशमा प्रदर्शन रोकिएको फिल्म ‘एक्टर : टेक वान’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । ‘एक्टर’का निर्मातासँग सहमति जुटेपछि फिल्मलाई शुक्रबारबाट प्रदर्शन गर्न लागिएको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले यसबारेमा जानकारी गराए ।

९ वर्षअघिको लोकप्रिय गीत ‘जालमा’को सिक्वेल ‘फेरि जालमा’ बिहीबार सार्वजनिक गरिएको छ । फिल्म ‘फेरि रेशम फिलिली’मा समावेश उक्त गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत छ भने उनीसहित सोमिया बराइलीको पार्श्व गायन छ । मानस राजले गीतको शब्द लेखेका हुन् । ‘जालमा’कै धुन र लयमा तयार पारिएको गीतमा ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो’को अंश पनि समावेश छ ।

हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सोनाम ल्होसारको अवसर पारेर सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । विदेशबाट डोल्पा पुगेको कफिन (शव राखेर ल्याइने बाकस)को वरिपरि घुमेको टिजरले वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई पनि चित्रण गर्छ ।

दुई फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’बीच नामलाई लिएर उत्पन्न विवाद टुंगिएको छ । बिहीबार दुवै फिल्मका निर्माताबीच भएको लामो छलफलपछि ‘एक्टर : टेक वान’लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो । दुवै फिल्मको निर्माण कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा ‘एक्टर’ निर्माताले ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धा फिर्ता लिने जनाइएको छ ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘केटी हराएको सूचना’ले व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको भए पनि समीक्षा राम्रो प्राप्त भइरहेको छ । जसले गर्दा फिल्मप्रति दर्शकहरुमा चासो बढ्न थालेको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालका २ सय बढी सदस्यहरुले काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको एउटा हल नै ‘बुक’ गरेर फिल्म हेरेका छन् ।

दिवाकर भट्टराई लभस्टोरी फिल्म बनाउने निर्देशकको रुपमा कहलिएका छन् । ‘मेरो जीवन साथी’, ‘स्टूपिड मन’, ‘ऐश्वर्य’बाट उनले लभस्टोरीमा आफूलाई प्रमाणित गरे । एक हिसाबले उनी निर्देशित ‘क्याप्टेन’ पनि लभस्टोरी नै थियो । यतिबेला एक्सन कथावस्तुमा फिल्म ‘नरसिंहा’ बनाइरहेका उनको लामो समयपछि पूर्ण लभस्टोरी फिल्म ‘मायावी’ आगामी फागुन १४ गते प्रदर्शनमा आउँदैछ ।