उडिसामा रहेको प्रख्यात युनिभर्सिटि कलिंगा इन्स्टिच्यूट अफ इन्डेस्ट्रीयल टेक्नोलोजि (किट यूनिभर्सिटी) ले भारतीय स्वतन्त्रता दिवसको दिन फिल्म निर्देशक दीपा बस्नेतलाई सम्मान गरेको छ ।
सो अवसरमा निर्देशक बस्नेतलाई उडिसा राज्यमा रहेका फिल्मकर्मीहरुमाझ परिचित गराई सम्मान गरिएको हो । कार्यक्रममा निर्देशक बस्नेतले नेपाली फिल्मको परिदृश्यलाई संक्षिप्त रुपमा राखेकी थिइन् ।
किट युनिर्भ्सिटीका संस्थापक डा.अच्युत सामन्तले निर्देशक बस्नेत फिल्म निर्देशनको शिक्षा हासिल गरेको र सामाजिक मुद्धाहरुमा फिल्म बनाइसकेकाले उनलाई किट युनिभर्सिटीको तर्फबाट अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा नियुक्ति गरिने बताए ।
कलिंगा इन्टिच्यूट अफ इन्डेस्ट्रीएल टेक्नोलोजिले चाँडै नै नेपालमा आफ्नो शाखा विस्तार गर्नेछ । उक्त यूनिभर्सिटीको नेपाल संयोजकको रुपमा निर्देशक दीपा बस्नेत रहने छिन् । आगामी मार्च महिनादेखि उक्त युनिभर्सिटीको औपचारिक रुपमा काठमाडौंमा शाखा सञ्चालन हुनेछ ।
‘अन्तराल’ डेव्यु निर्देशक दिपा बस्नेतले निर्देशन गरेको पछिल्लो फिल्म ‘श्री ५ अम्बरे’ यसै वर्ष प्रदर्शनमा आएको थियो । यो फिल्म अहिले बिदेशका केही मुलुकमा प्रदर्शनरत छ ।