मिति : २०८१ पौष २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी जाने सोचमा कामेश्वर

फिल्मीखबर, काठमाण्डौ, 2020/01/06
‘रेशम फिलिली’ मा हरियाको भूमिकामार्फत चर्चामा आएका कामेश्वर चौरासियाको केही समय अगाडिसम्म नेपाली फिल्ममा चर्को डिमान्ड थियो । सहायक चरित्र र नकारात्मक भूमिकामा उनलाई लिन निर्माताबीच हानाथाप हुन्थ्यो । तर, आफ्नो चर्को माग हुँदा उनले निर्मातासँग कि ‘लिड क्यारेक्टर’ कि मोटो पारिश्रमिक माग्न थाले । जुन उनकै करिअरका लागि घातक सावित भयो । 
 
उनलाई निर्माता/निर्देशकले न मोटो पारिश्रमिक दिन तयार भए न त ‘लिड क्यारेक्टर’ मा लिएर जोखिम मोल्न नै । त्यसपछि कामेश्वरलाई ‘घमण्डी’ भन्न थालियो । र, उनलाई फिल्म पनि अफर हुन छाड्यो । बिस्तारै उनी कामविहीन भए । चिनी किन्ने पैसासम्म उनीसँग हुन छाड्यो । फिल्मबाट काम पाउन छाडेपछि उनले कुनै कम्पनीमा जागिर गर्ने सोच समेत बनाएका थिए ।
 
फिल्म अफर हुँदा गेस्ट रोल अस्वीकार गर्ने कामेश्वर फिल्म पाउन छाडेपछि भने पैसा पाए जस्तोसुकै रोल गर्न पनि तयार भए । तर, फिल्मकर्मीले ‘घमण्डी’ भन्न थालेपछि उनलाई गेस्ट रोल पनि अफर हुन छाड्यो । फिल्म पाउने आश मेरेपछि उनी घर फर्किए । गाडीमा घर जाँदै गर्दा उनलाई अभिनेता विराज भट्टले फोन गरेर फिल्म ‘साङ्लो’ मा अभिनयका लागि प्रस्ताव राखे । 
 
 
विराजले फिल्म अफर गर्दा कामेश्वरले आफूलाई अमिताभ बच्चन सम्झिएछन् । उनी भन्छन्, ‘सुरुमा त कसैले झुक्याएको होला जस्तो लाग्यो । पछि उहाँले ‘म विराज नै हुँ’ भनेपछि ज्यादै खुसी भएको थिएँ । त्यसबेला मैले आफूलाई अमिताभ बच्चन ठानेँ । उहाँलाई पनि फिल्म पाउन छाडेपछि घर जाँदै गर्दा एक निर्देशकले बोलाएर काम दिएका थिए रे । मेरो हकमा पनि त्यस्तै भयो ।’ 
 
‘साङ्लो’ मा काम गर्नका लागि घरबाट पुनः काठमाडौं फर्किएपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरे । र, मीनभवनस्थित बागमती करिडरमा एक होटल खोले । जहाँ उनी आफैं माछाका परिकारहरु पकाउँछन् । उनको होटलमा माछाको परिकार खान अहिले फिल्मकर्मीहरु बाक्लै पुग्ने गरेका छन् । अब उनी फिल्म अभिनय र होटललाई एकसाथ अगाडि लिएर जाने सोचमा छन् । 
 
अभिनेता विराज भट्टसँग भेट भएपछि कामेश्वरलाई भोजपुरी फिल्ममा जाने आत्मविश्वास पलाएको छ । ‘साङ्लो’ को ट्रेलर रिलिज कार्यक्रममा उनले भने- ‘उहाँ (विराज भट्ट) जस्तो व्यक्ति भोजपुरी फिल्ममा जानुहुन्छ भने म त झन् भोजपुरीकै मान्छे हुँ किन जान सक्दिनँ भन्ने आत्मविश्वास पलाएको छ । विराज दाईको संगतमा लागेर यतिसम्म सोच्ने आँट आएको छ । उहाँबाट धेरै सिक्न पाएँ ।’