मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्खेको पर्खै आना!

फिल्मीखबर, काठमाडौं, 2021/03/28
 
फिल्म ‘जेरी’ पछि धेरै निर्देशक तथा निर्माताको रोजाईमा परेकी अभिनेत्री आना शर्मा अहिले गुमनाम जस्तै छिन् । उनले फिल्ममा काम नगरेकै दुई वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा देखिएकी थिइन् । नेपालको पहिलो हलिउड फिल्म भनेर प्रचार गरिए पनि फिल्मले हलमा सिन्को भाँचेन । न त आनाको अभिनयकै प्रशंसा भयो ।
 
यो फिल्मभन्दा अगाडि उनले हेमराज विसी निर्देशित फिल्म ‘ग्यांगस्टार ब्लूज’ मा काम गरेकी थिइन् । यसमा उनको अपोजिटमा अभिनेता आशिरमान देशराज जोशी थिए । प्रदर्शनभन्दा अगाडि फिल्मको हल्लाखल्ला ठूलै थियो । तर, बक्सअफिसमा फिल्मले आशातित व्यापार गर्न सकेन । ‘ब्याक टू ब्याक’ दुई फिल्म असफल भएपछि यतिबेला आनाको करिअर धरमरको स्थितिमा छ ।
 
यसै वर्षको साउनमा उनले प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्म साइन गरेकी थिइन् । उनीसँगै फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता मनिष राउत पनि अनुबन्ध भएका थिए । परिस्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, निर्देशक पौडेलले यो फिल्मभन्दा अगाडि शुक्रवारबाट अर्को फिल्म ‘बिहे पास’ को छायांकन थालेका छन् ।
 
छायांकनका लागि ८ महिना कुरिसकेकी आनाले निर्देशकका कारण अझै केही महिना पर्खिनु पर्ने देखिन्छ । जसले गर्दा दर्शकले आफूलाई विर्सिने त होइनन् भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । फिल्मको छायांकन सुरु भइदिएको भए उनलाई धेरै राहत हुने थियो । तर, छायांकन नै कहिलेबाट सुरु हुने भन्ने ठेगान छैन । प्रदर्शन त झन् कहिले-कहिले । तनाव छ आनालाई पनि !