आफू अभिनीत पहिलो फिल्म ‘अनुराग’ मा नव-नायक समुन्द्र पण्डितसँँग अनस्क्रिन रोमान्स गरेकी अभिनेत्री एलिजा गौतमको दोस्रो फिल्म ‘घुँइचो’ मा पनि नव-नायकसँग जोडी बाँधिने भएको छ । यो फिल्ममा उनको अपोजिटमा मोडल कुन्साङ बोम्जन देखिने भएका हुन् । कुन्साङसँग निर्माण टिमले कागजी सम्झौता गरिसकेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।
कुन्साङले ‘तिम्रो माया, तिम्ले देको गलबन्दी, केवल तिमी भित्रै, धड्किरहन्छ मुटुभरी, बन्द तिम्रै नाम’ लगायत एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । म्यूजिक भिडियोमा दर्शकले उनको जोडी मलिका महतसँग मन पराएका छन् । बजारमा उनीहरु प्रेममा रहेको चर्चा पनि चलिरहेको छ । अब ‘घुँइचो’ मा दर्शकले उनलाई मुख्य नायकको रुपमा देख्न पाउनेछन् ।
यो फिल्मका लागि निर्देशकको अफर ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामालाई गरिएको छ । तर, उनले फिल्म साइन गरिनसकेको जानकारीमा छ । सोमवार (भोली) फिल्मको राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम छ । रामजी दैलेखीको लगानीमा निर्माण हुने यो फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।
जुम्ला जिल्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यो भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्ने निर्माता दौखेसीको भनाई छ । त्यस्तै, अभिनेत्री गौतमले आफूले खोजेको जस्तै कथा भेटेकाले काम गर्नका लागि राजी भएको बताएकी छन् । फिल्मलाई नेपालसँगै अमेरिकामा पनि छायांकन गर्ने योजना निर्माण टिमको रहेको छ ।