
यस वर्षको प्रतिक्षीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को एड्भान्स बुकिङ खुल्ला भएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मप्रति दर्शकमा देखिएको क्रेजलाई मध्यनजर गर्दै सोमवार दिउँसोबाट मल्टीप्लेक्सहरुमा बुकिङ खोलिएको हो । ब्रान्ड फिल्मको सिरिज भएका कारण मल्टीप्लेक्सहरुले एड्भान्स बुकिङमै फिल्मलाई उल्लेख्य शो बाँडेका छन् ।
नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनले देशभरका ११ वटा स्टेशनमा फिल्मलाई ८३ शो दिएको छ । सम्भवतः क्यूएफएक्स चेनमा नेपाली फिल्मले एड्भान्स बुकिङमा पाएको यो सर्वाधिक शो हो । बिहीवार साँझसम्म फिल्मको शोमा थप वृद्धि हुन सक्ने देखिन्छ । वान सिनेमाज्, बिग मुभिज, एफक्यूब सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि फिल्मले उल्लेख्य शो पाएको छ ।
बुकिङ खुल्ला भएसँगै दर्शकहरुले आफ्नो सिट सुरक्षित गर्न थालिसकेका छन् । वितरक गोविन्द शाहीले विभिन्न मल्टीप्लेक्सहरुमा भएको बुकिङको स्क्रिन सट फेसबुकमा पोस्ट गर्दै फिल्मको रेकर्ड ब्रेक बुकिङ भएको उल्लेख गरेका छन् । बलियो स्टार कास्ट, ट्रेलर र ‘केशरी’ गीतले बढाएको हाइप र ब्रान्ड फिल्मको सिरिज भएकाले फिल्मको ओपनिङ बम्पर हुने लगभग निश्चित झैं छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । यो फिल्मलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ ।