आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रकाश’मा काम गरेपछि हटकेक अभिनेता प्रदीप खड्काको अभिनय र चरित्रप्रतिको बुझाईमा ठूलो परिवर्तन आएको छ । कुनै बेला हिरो भन्दा मख्ख पर्ने उनी अचेल कलाकारको रुपमा सम्बोधन हुँदा खुशी महशुस गर्छन् । त्यसैले होला, अहिले उनी आफू हिरोबाट कलाकार बन्ने प्रयासमा रहेको अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।
तर, धेरैले हिरो र कलाकारमा भिन्नता नभएकोले प्रदीपको बुझाई मात्र गलत रहेको बताएका छन् । उनको नजरमा भने फिल्मको अन्तिममा बचाउन आउने पात्र हिरो हो । उनी भन्छन्, ‘हिरो त समाजमा पनि हुन्छ । फिल्मको कुरा गर्दा हिरो कलाकार पनि हो । तर, फिल्मको अन्तिममा बचाउन आउने पात्रलाई हामी हिरो मान्दछौं । फिल्ममा हिरोलाई त्यसरी नै स्टोरियोटाइप गरिएको छ ।’
उनले सबै हिरो कलाकार नहुन पनि सक्ने तर्क गरे । ‘मलाई पहिला हिरो भनेको हाइट र बडी आकर्षक हुनुपर्छ भन्ने लाग्थ्यो । तर, कसैले ‘तिमी पनि हिरो बन्न मिल्छ’ भनेपछि ‘मैले पनि एउटा पुस्तालाई प्रतिनिधित्व गर्न सक्ने रहेछु’ भन्ने सोच पलायो’ उनले भने, ‘तर, अहिले आएर बुझ्दा सबै हिरो कलाकार नहुन पनि सक्ने रहेछ । त्यसैले अब म कलाकार पनि बन्नुपर्ने रहेछ भन्ने लागेको छ ।’
प्रदीपले अभिनयको हिसाबमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए । दुवै फिल्ममा आफूले शतप्रतिशत दिएको उनको भनाई छ । ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको अभिनेत्री रेनु योगीसँग राम्रो बोन्डिङ देखिएको थियो । फिल्ममा रेनुले आफूलाई ‘सर’ भन्ने गरेकाले आफूहरुको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो रहेको भन्दै उनले ठट्टा गरे ।