युवापुस्तामाझ गजबको क्रेज बनाएका अभिनेता प्रदीप खड्का अभिनीत नयाँ फिल्म ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । डेब्यू फिल्मदेखि आफूलाई चकलेटी भूमिकामा सीमित रहेका उनले यो फिल्मबाट आफ्नो दायरा फराकिलो बनाएका छन् । लभर ब्वाईको छवि भत्काउन उनले ‘प्रकाश’मा निर्वाह गरेको भूईंमान्छेको चरित्र कोशेढुंगा सावित हुन सक्छ ।
यो फिल्मको आइडियादेखि नै प्रदीप संलग्न थिए । लेखक र निर्देशकबाट वानलाइन स्टोरी सुनेपछि काम गर्न तयार भएका उनी स्क्रिप्टको काम पूरा भइसकेपछि भने फिल्मको पात्रमा जीवन्त अभिनय गर्न सकिन्न कि भनेर डराएका थिए । तर, निर्देशक दिनेश राउतले उनीप्रति जुन विश्वास देखाए, त्यसैको बलमा प्रदीपले करिअरको सबैभन्दा चुनौतीपूर्ण चरित्रमा आफूलाई ढाल्ने प्रण गरे ।
अभिनयमा निखारता ल्याउन उनले रंगकर्मी अनुप बरालबाट अभिनय सिके । फिल्मको पात्रलाई न्याय गर्न सकिन्छ कि सकिन्न भनेर अडिसन दिए । अनुप बरालले केही चरण अडिसन लिएपछि उनी जुम्लेली भूमिकामा अभिनय गर्नका लागि चयन भएका थिए । उनी कलाकार भएपछि अडिसन दिन सधैं तयार हुनुपर्ने तर्क राख्छन् । अडिसनले कलाकारलाई निखार्ने उनको अनुभव छ ।
उनले ‘कालो पोथी’ निर्देशक मीन भामको फिल्मका लागि अडिसन दिने इच्छा देखाएका छन् । सिसन बाँनियासँगको कुराकानीमा ‘प्रकाश’ हेरेपछि मीन भामले आफूलाई लिएर फिल्म बनाउने इच्छा देखाए हुन्थ्यो भन्ने उनको सपना छ । उनी भन्छन्, ‘मीन दाईले ‘प्रकाश’ हेरेपछि प्रदीपलाई लिएर फिल्म बनाउँछु भन्नुहोस् भन्ने लागेको छ । उहाँको फिल्मका लागि अडिसन दिन इच्छुक छु ।’