फिल्म ‘कबड्डी ४’को सफलतापछि निर्देशक रामबाबु गुरुङले नयाँ नाममा बनाउन लागेको फिल्म ‘फूलबारी’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । बुधवार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । आगामी भदौबाट सुटिङमा निस्किन लागेको फिल्मले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ ।
यशोधा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सृजना सुब्बा, प्रियंका कार्की, मिरुना मगरलगायतको अभिनय रहनेछ । कमल किशोर मलपानीको कथा तथा कन्सेट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाको हो । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहने फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिच्नेछन् ।
मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा मणीराम पोखरेल छन् । कार्यक्रममा लेखक उपेन्द्र सुब्बाले फिल्मको कथा पूर्ण रुपमा तयार भएर आएकाले आफूले पटकथा लेखनमा उत्तिधेरै मिहेनत गर्नु नपरेको बताए । फिल्मको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ । निर्देशक रामबाबु गुरुङले फिल्मलाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने विश्वास दिलाए ।
फिल्ममा विपिनले दयाहाङको ५८ वर्षिय पिताको भूमिका निर्वाह गर्ने चर्चा छ । यसबारेमा स्पष्ट पार्दै विपिनले भने, ‘फिल्ममा म दया दाईकै पिता बनेर देखिन लागेको होइन । तर, फिल्ममा कसैको पिता भने पक्कै बन्दैछु । मैले यो रोललाई चुनौतीको रुपमा पनि लिएको छु । यो रोलमा मैले दर्शकहरुलाई विश्वास दिलाउन सकेँ भने मेरो मिहेनत र उद्देश्य सार्थक भएको महशुस गर्नेछु ।’
दयाहाङले भने निर्माता र निर्देशनले जुन उद्देश्य र सोचका साथ फिल्म बनाउन लागेको हो, त्यसबाट आफू प्रभावित भएको बताए । आफ्नो भूमिका यसपटक केही फरक रहेको उनको भनाई छ । त्यस्तै, प्रियंकाले ‘पुरानो डुंगा’पछि रामबाबु गुरुङ र दयाहाङ राईसँग फिल्ममा काम गर्नका लागि आफू उत्साहित रहेको बताइन् । यो टिमप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको कथन छ ।
उनले भनिन्, ‘यति राम्रो टिमसँग काम गर्ने पाएको छु, खुशी छु । लामो समयको अन्तालपछि रामबाबु दाई र दया दाईसँग काम गर्दैछु । मलाई एकदमै मनपर्ने फेमिली हो, यो । केही वर्षको अन्तरालपछि फिल्ममा काम गर्न लागेकाले उत्साहित पनि छु । मलाई रामबाबु दाईले स्क्रिप्ट सुनाउँदा एकैचोटीमा मन परेको थियो । यो फिल्म मेरो करिअरका लागि पनि एकदमै महत्त्वपूर्ण रहनेछ ।’