मिति : २०८१ कार्त्तिक ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलवालाप्रति आक्रामक प्रदीप, भन्छन्, ‘अब चोक-चोकमा प्रोजेक्टरबाट फिल्म देखाउँछु’

फिल्मीखबर, काठमाडौं, 2022/08/26
शुक्रवारबाट दुई आशातित फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । तर, नेपाली माटो बोल्ने यी दुई फिल्मलाई विशेषगरी मल्टीप्लेक्स सञ्चालकहरुले भने सौतेनी व्यवहार देखाएका छन् । शुक्रवारबाटै प्रदर्शन भएको बलिउड फिल्म ‘लाइगर’लाई भएभरको शो थुपारेर हल सञ्चालकहरुले नेपाली फिल्मलाई भने झारो टार्ने शो मात्र दिएका छन् । क्यूएफएक्सको च्यानलमा त ३ बजेपछि दुवै फिल्मलाई शो छैन । 
 
नेपालमा शुक्रवार २ बजेपछि कार्यालय छुट्टी हुन्छ । छुट्टी भएपछि कतिपय मनोरञ्जनका लागि हल जाने गरेका छन् । तर, हल सञ्चालकहरुले नै २/३ बजेपछि शो उपलब्ध नगराउँदा ‘प्रकाश’ र ‘राधा’माथि ठूलो अन्याय भएको छ । ‘राधा’ टिम यसविषयमा मौन देखिएको छ । तर, ‘प्रकाश’को टिमले भने शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै हल सञ्चालकहरुविरुद्ध आगो नै ओकल्यो ।
 
pradeep khadka
 
ऋषी धमलाको रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्का आक्रामक शैलीमा प्रस्तुत भएका थिए । हल सञ्चालकहरुले ‘प्रकाश’लाई उपयुक्त शो टाइम उपलब्ध नगराए काठमाडौंको चोक-चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने उनले घोषणा नै गरे । फिल्म हेर्न जाँदा शो नै छैन भनेर हलले फर्काएको गुनासो दर्शकहरुबाट आएको भन्दै उनले केही म्यासेजहरु पढेर समेत सुनाए । 
 
‘फिल्मको आउटलुक हेर्दा मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला,’ उनले भने, ‘३ बजेपछि फिल्मको शो नै छैन । ललितपुर हो मेरो घर । मेरो परिवारका सदस्यले ३ बजेपछि फिल्म हेर्न चाहे भने कि प्लेन चढाएर विर्तामोड पठाउनुपर्छ नभए ट्याक्सी चढाएर अरु ठाउँमा पठाउनुपर्छ । यो त ठूलो अन्याय हो नी ।’
 
जुम्लाको समस्या र परिवेश काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्देश्यले फिल्म निर्माण गरेको भए पनि फिल्मले काठमाडौंमै राम्रो शो नपाएको उनले गुनासो पोखे । आक्रामक शैलीमा प्रदीपले भने, ‘फिल्मले शो नै नपाएपछि देखाउने चाहिँ कहाँ ? एउटा फिल्म चलाउनका लागि सिनेमा हल नै त खोल्न सकिन्न । यदि शो नै नपाउने हो भने चोक-चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउन बाध्य हुनेछौं ।’
 
उनले पैसा कमाउन ‘प्रकाश’ नबनाएको पनि तर्क राखे । ‘फिल्मको माध्यमबाट हामीलाई केही भन्नु थियो । पैसै कमाउनु थियो भने निर्माताले किन फिल्म नै बनाउनु पर्थ्यो र ? ‘प्रेमगीत ३’ रिलिज नहुँदासम्म मलाई फिल्म नै गर्नु थिएन । तर, मैले गरेँ । किनकि, मलाई पनि केही भन्नु थियो । हाम्रो पैसा कमाउने उद्देश्य नै होइन । अब चोक-चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउने हो,’ उनले भने ।
 
प्रदीप फिल्मले राम्रो शो नपाउनुको कारण हल सञ्चालकको नियतमाथि खोट देख्छन् । नेपाली र विदेशी फिल्मलाई समान रुपले प्रदर्शन गर्नुपर्ने तर्क राख्दै उनले थपे, ‘फिल्म चलेन भने अर्को फिल्मलाई शो दिनुपर्छ । तर, अर्को फिल्म (लाइगर) को बुकिङ र रेस्पोन्स कस्तो छ अनि हाम्रो फिल्मको प्रिमियरपछि रिभ्यू कस्तो छ, मुल्यांकन नै नगर्ने ? काहिँ न काहिँ नियतमा खोट देख्छु ।’
 
 
पत्रकार सम्मेलनमा निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी र राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही उपस्थित थिए । तर, फिल्मका निर्देशक दिनेश राउत भने उपस्थित थिएनन् । हल सञ्चालकले फिल्मलाई शोमा चरम विभेद गरेपछि कार्यक्रममा उपस्थित हुन निर्देशक राउतलाई लज्जाबोध भएको प्रदीपले सुनाए । आफूलाई पनि हल सञ्चालकको व्यवहारले नराम्रो महसुस भएको बताए । 
 
निर्माता महेन्द्र अधिकारीले पनि शो बाँडफाँडमा हल सञ्चालकले विभेद गरेको गुनासो पोखे । ‘हामीले गरेको दुःखलाई दर्शकहरुले शो नपाएका कारण हेर्न नै नपाउने ?’, उनले प्रश्न गर्दै भने, ‘मेरो धारणा यत्ति मात्र होकि हामीले बनाएको फिल्म विहान, दिउँसो र बेलुका तीनवटै समयमा दर्शकहरुले हेर्न पाउनुपर्छ । विदेशी फिल्म मात्र चल्नुपर्छ भन्ने मात्र छ र ? हामीले पनि पैसा बनाएर देखाउन सक्छौं नी ।’
 
उनले फिल्म बनाउन सिकाउन हल सञ्चालकहरुलाई चुनौती पनि दिए । निर्माता अधिकारीले आक्रोशित भावमा भने- ‘हामीलाई स्क्रिप्ट दिनुस्, तपाईंहरुले सोचेको जस्तै फिल्म बनाएर दिन्छौं । आजको दिनमा ‘प्रकाश’ राम्रो छैन, हेरिनु हुँदैन, नेपालीपन बोकेको छैन भनेर कसैले भन्छ भने म भोली नै फिल्म हलबाट उतार्न तयार छु । नभए एक/दुईजनाको सिन्डिकेटले फिल्मलाई मार्नु हुँदैन ।’ 
 
त्यस्तै, लेखक विकास सुवेदीले कुनै फिल्मले नेपाली समाजको कथाव्यथा बोकेर आउँछ भने त्यसलाई चल्ने फिल्म होइन भनेर ब्याख्या गरिनु गलत प्रवृति रहेको बताए । नेपाली फिल्मको धार बदल्न नसोचेका फिल्मले नै भूमिका खेलेको स्मरण गर्दै सुवेदीले हल सञ्चालक र वितरकले कस्तो फिल्मलाई व्यावसायिक मानिरहेका छन् भन्ने कुरा अहिलेको सबैभन्दा ठूलो प्रश्न रहेको बताए । 
 
bikash subedi
 
नेपालीपन बोकेका फिल्महरु बन्नै हुँदैन भन्ने मानसिकता बोकेको एउटा जमात कहिँ कतै ‘प्रकाश’को पछाडि लागेको हुनसक्ने उनको बुझाई छ । ‘के अब हाम्रो कथालाई बाहिर नै नल्याउने ? ढाकाटोपी लगाएको पात्र देखेपछि यो फिल्म चल्दैन त्यसैले कम शो दिए पनि हुन्छ भन्ने मानक बनाउँदै जाने हो भने अबको २० वर्षपछि नेपाली फिल्म इन्डस्ट्री कहाँ हुन्छ ? भोजपुरी जस्तै बन्ने हो त ?,’ उनी सुनिए । 
 
हल सञ्चालकबाट सौतेनी व्यवहार भोग्नुपरेको ‘प्रकाश’ मात्र पहिलो नेपाली फिल्म भने होइन । विदेशी फिल्मसँग भिड्ने आँट गरेका प्रायः नेपाली फिल्मलाई हल सञ्चालकहरुले चरम विभेद गरेका छन् । तर, यसविषयमा न राज्यको चलचित्र विकास बोर्डले कुनै कदम चाल्न सकेको छ न सिंगो फिल्म क्षेत्रले आवाज उठाउन सकेको छ । जसलाई पर्छ उही मात्र बोल्ने संस्कार फिल्म क्षेत्रमा छ ।
 
तस्विर : सुरेन्द्र थापा (स्माइल)
Most Visited News (monthly)