नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेर कथावस्तु, प्रस्तुतीकरण र कलाकारहरुको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । आइतवार जमलस्थित विश्वज्योति हलमा फिल्म हेरेका उनले कर्णालीको जनजीवन, भाषा, भेषभुषा, त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई फिल्मले काठमाडौंमै बसेर राम्रोसँग जुम्ला देखाउने र चिनाउने बताए ।
उनले भने, ‘अहिले संसद्मा जनयुद्धमा मृत्य र बेपत्ता भएका नागरिकहरुको सन्दर्भमा एउटा विद्येयक बनिरहेको छ । त्यो विद्येयक बनाउँदै गर्दा हामीले द्वन्द्वकालको थुप्रै कथाहरु बिर्सिसकेका छौं । हामीले द्वन्द्वकालमा यति हजारको मृत्यु र यति हजार बेपत्ता भए भनेर त्यसलाई सामान्यकरण गरेका छौं । तर, त्यो हजारसँग समाज र परिवार कसरी जोडिएको छ भन्ने कुरा फिल्मले देखाउँछ ।’
नेपाली समाजले लामो समयसम्म भोगेको दर्दनाक समयलाई राजनीति गर्नेहरुले बिर्सिन खोजिरहेको अवस्थामा ‘प्रकाश’ले राम्रोसँग सम्झाएको उनको भनाई छ । उनी फिल्मको कथा र कलाकारको अभिनय जीवन्त रहेको बताउँछन् । द्वन्द्वकालको समय र पीडा नभोगेको पुस्तालाई पनि एकपटक फिल्म हेर्न उनको आग्रह छ । उनले राजनीति गर्ने सबैलाई फिल्मले झकझकाउने पनि बताए ।
गगन अगाडि भन्छन्, ‘फिल्ममा बेपत्ता भएको एक पात्रको परिवारको कथा छ । हामीले त ती मानिसहरुलाई बिर्सिसक्यौं । एक/दुई लाख रुपैयाँ राहत दियौं र त्यो फाइल बन्द गर्यौं । तर, त्यसको कथा चाहिँ हामीले त्यही मान्छेसँग मात्र छाडिदियौं । तर, के द्वन्द्वकाल टुंगिँदैमा त्यसले दिएको घाउ निको भयो त ? फिल्मले उठाएको सशक्त पक्ष त्यो हो । मलाई फिल्म एकदमै मनपर्यो ।’
शुक्रवारबाट प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिवार सुखद् व्यापार गरेको थियो । बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा दर्शक बढिरहेको निर्देशक दिनेश राउतले बताएका छन् । शिक्षक बन्न संघर्ष गर्ने एक जुम्ली युवकको कथामा आधारित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थीलगायतको अभिनय छ । ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारी हुन् ।