जातीय र वर्गीय विभेदको मुद्धालाई समेत उठाएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को साहरामा सुखद् प्रदर्शन गरिरहेको छ । फिल्मले उठाएको विषयवस्तुले आम मानिसलाई मात्र आकर्षित गरेको छैन, राजनीतिक दलका नेताहरुको समेत ध्यान खिचेको छ । त्यसैले अहिले दिनहुँ विभिन्न पार्टीका प्रभावशाली नेताहरु हल पुगेर फिल्म हेरिरहेका छन् ।
कांग्रेसका नेता गगन थापा, राजनीतिककर्मी रविन्द्र मिश्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि बुधवार साँझ काठमाडौंको दरवार सिनेम्याक्समा फिल्म हेरे । आफूले विगत ७ वर्षदेखि उठाउँदै आएको वर्गीय विभेदकै मुद्धामा ‘प्रकाश’ खरो रुपमा उत्रिएको उनले बताएका छन् । उनले आफ्नो राजनीतिक एजेण्डासँग फिल्मको विषयवस्तुबीच समानता रहेको पनि बताए ।
उनले भने, ‘राज्यले जनतालाई जातको आधारमा नभइ वर्गका आधारमा सेवा सुविधा दिनुपर्छ । राज्यले गरिबलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा हामीले उठाउँदै आएका छौं र ‘प्रकाश’ले पनि यही कुरा देखाएको छ । फिल्ममा देखाए झैं अहिलेको राज्य व्यवस्थाले वर्गीय विभेदलाई प्रोत्साहन गरिरहेको छ, जुन गलत हो । अहिलेको समाज कस्तो छ त्यसलाई पनि यो फिल्मले चित्रण गरेको छ ।’
नेपाली राजनीतिको विकृतिको मार समाजमा ‘प्रकाश’ जस्तै पात्रले वर्षौंदेखि भोग्दै आउनु परेको बताउँदै अध्यक्ष लिङ्देनले अगाडि भने, ‘यो फिल्म आम जनताले त हेर्नै पर्छ, त्योभन्दा बढी अहिलेको वर्तमान समयको नेतृत्व गरिरहेको छु भन्ने राजनैतिक दलहरुका सबै नेता तथा कार्यकर्ताहरुले नछुटाइ हेर्नुपर्छ ।’ उनले फिल्ममा हरेक कलाकारले जीवन्त अभिनय गरेको भन्दै प्रशंसा पनि गरे ।
महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, निरज पन्थी, दिपेन्द्र शाही, गोविन्द सुनुवार, रामबाबु रेग्मीलगायतको अभिनय छ । फिल्ममा विकास सुवेदीको कथा लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको गीतमा संगीत रहेको छ ।