दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीनवटा पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झा प्रस्तुत छन् । पाँचैजनालाई स्थान दिइएको पोस्टरमा वर्षाबाहेक अरु खुसीले गदगद छन् । विपिन लालपूर्जा देखाएर वर्षालाई खुसी बनाउन खोजिरहेको देखिन्छ ।
एउटा पोस्टरमा दयाहाङ राई सुट-बुटमा ठाटिएर कालो चश्मा लगाएर कतै हेरिरहेका देखिन्छन् । अर्को पोस्टरमा विपिन हँसिलो भावमा चुरोटको बट्टाबाट काजू निकालेर खाँदै गरेको देखिएका छन् । उनको घाँटी र हातको औंला सुनले पुरिएको छ । यसबाट उनी फिल्ममा व्यापारीको भूमिकामा हुनसक्ने बुझिन्छ । तीनवटै पोस्टरको पृष्ठभूमिमा घरै-घरले ढाकिएको काठमाडौंको दृश्य छ ।
यस फिल्ममा विपिन-वर्षा र दयाहाङ-सुरक्षा जोडीको रुपमा रहेको पोस्टरमार्फत् प्रस्ट्याइएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ । फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा भन्नेछ ।
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । तिहारलाई लक्षित गर्दै कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।