अभिनेत्री सुप्रिया कटुवाल र निर्देशक तथा निर्माता सुदर्शन थापा आमा-बुबा बन्ने भएका छन् । शुक्रवार साँझ फिल्म ‘सम्हालिन्छ कहिले मन’ हेर्न पुगेको समयमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सुप्रियाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले पाँच महिनापछि खुसीको खबर सुन्न पाइने बताइन् । सुप्रिया र सुदर्शनले २०७८ सालको असोज २२ गते विवाह गरेका थिए ।
सुदर्शन थापाले आफूले जीवनभर नेपाली फिल्म इन्डस्ट्रीकै लागि सास फेर्ने र आफ्नो नयाँ पुस्ताले पनि फिल्ममा काम गरेको हेर्ने इच्छा रहेको बताएका छन् । उनले भने- ‘म वर्षौंदेखि नेपाली फिल्म इन्डस्ट्रीमा छु र सदा रहन्छु । मेरो अर्को पुस्ताले पनि फिल्ममै काम गरोस् भन्ने लाग्छ । तर, सबैको आ-आफ्नो इच्छा र चाहना हुन्छ । र, हामी उनीहरुले जुन क्षेत्र रोज्छन् त्यसमा खुसी हुन्छौं ।’
अहिले सुप्रियाको गर्भमा ४ महिनाको शिशु हुर्किरहेको छ । एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत उनी अहिले घरमा आराम गरिरहेकी छन् । उनले फिल्म ‘साढे सात’बाट अभिनेत्रीको रुपमा समेत डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्म असफल भएपछि उनले अभिनयलाई निरन्तरता दिएकी छैनन् । सुप्रियाले केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
सुदर्शन निर्देशित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ शुक्रवारबाट हलमा प्रदर्शनरत छ । शनिवार फिल्मले देशभर हाउसफुल व्यापार गरेको थियो । उनी चाँडै अभिनेत्री पूजा शर्माको होम प्रोडक्सनबाट निर्माण हुने नयाँ फिल्मको निर्देशन गर्ने तयारीमा छन् । उनको पाइपलाइनमा फिल्म ‘प्रसाद २’ पनि छ । तर, कलाकारसँगको लफडाका कारण यो फिल्म बन्ने वा नबन्ने अन्योलमा छ ।