गत वर्षको सफल फिल्म ‘पुष्पा’पछि अब यसको दोस्रो पार्टको छायांकन सुरु हुँदैछ । ‘पुष्पा २’का लागि निर्माताले अभिनेता अल्लू अर्जुनलाई माटो पारिश्रमिक दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउड भाष्करका अनुसार, निर्माताले अल्लूलाई १ सय २५ करोड भारु पारिश्रमिक दिएका छन् । योसँगै उनी भारतको तेस्रो सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता बनेका छन् ।
भारतीय मिडियाको दाबी अनुसार, बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘किसी का भाई किसी की जान’का लागि निर्माता साजिद नाडियाडवालाबाट १ सय २५ करोड पारिश्रमिक लिएका छन् । अब अल्लूले सलमानलाई पारिश्रमिकमा बराबरी गरेका छन् । ‘पुष्पा’को सफलतापछि स्टारडमको उचाईंमा पुगेका अल्लूले ‘पुष्पा २’का लागि महिनौंदेखि मिहेनत गरिरहेका छन् ।
त्यस्तै, ‘पुष्पा २’को बजेट ४ सय ५० करोड हुने बताइएको छ । ‘पुष्पा’को पहिलो पार्ट तेलुगूमा निर्माण भएको थियो । पछि यसलाई हिन्दीमा डब गरेर प्रदर्शन गरिएको हो । फिल्मले हिन्दी भर्सनमा एक सय करोडमाथिको व्यापार गरेको थियो भने विश्वभर ३ सय ५० करोड बढी छापेको थियो । सुकुमारको निर्देशनमा बन्ने ‘पुष्पा २’मा अल्लू अर्जुनसँगै रश्मिका मन्दनाको मुख्य भूमिका हुनेछ ।