नेपाली फिल्मले वर्षौंदेखि प्रदर्शनको समयमा प्रदर्शकबाट सौतेनी व्यवहारको सामना गर्दै आएको छ । विदेशी फिल्मका कारण नेपाली फिल्मले हल र शो नै नपाउने समस्या हरेक हप्ता देखिने गरेको छ । हल र शो बाँडफाँडमा वितरक र प्रदर्शकको एकलौटी मनोमानी चल्ने भएकाले चलचित्र विकास बोर्ड पनि मुखदर्शक बन्न बाध्य छ । किनकि, नीति-नियमले बोर्डको हात बाँधिएको छ ।
गत भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ले मल्टीप्लेक्सहरुमा कम शो पाएको भन्दै अभिनेता प्रदीप खड्का आक्रोशित भएपछि सामाजिक सञ्जालमा बोर्ड अध्यक्ष भुवन केसी निशानामा परे । उनकै कारण ‘प्रकाश’ले कम शो पाएको टिप्पणी भयो । तर, सत्यता बेग्लै थियो । बोर्डसँग कुनै पनि फिल्मलाई हल र शो बाँडफाँड गर्ने अधिकार छैन । यो काम वितरक/प्रदर्शनको हो ।
नेपाली फिल्मलाई हल र शो नदिएको भनेर आफ्नो बदनाम गर्न खोजिएको अध्यक्ष भुवन केसीले गुनासो पोखेका छन् । मंगलवार एक कार्यक्रममा उनले भने- ‘बजारमा बोर्ड र भुवन केसीले नेपाली फिल्मलाई हल र शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोशिश गरिएको छ । तर, नियमअनुसार बोर्डसँग फिल्मलाई कति हल र शो बाँडफाँड गर्ने भन्ने अधिकार छैन ।’
नेपाली फिल्मले ६० प्रतिशत हल पाउनुपर्छ भन्ने बोर्ड र आफ्नो स्पष्ट अडान रहेको अध्यक्ष केसीको भनाई छ । फिल्मलाई हल र शो उपलब्ध गराउने काम वितरक र प्रदर्शकको भएकाले नेपाली फिल्मलाई पहिलो प्राथमिकता दिन पनि उनले आग्रह गरे । उनी भन्छन्, ‘निर्माताले घर-खेत बेचेर फिल्म बनाउँछन् । तर, सधैं प्रदर्शनमा समस्या आउँदा नेपाली फिल्म माथि उठ्न सकेको छैन ।’
उनले आफू ४० वर्षदेखि नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ भनेर लड्दै आएको बताए । संसारभरका फिल्महरु नेपाल आउन छुट भए पनि पहिलो प्राथमिकता प्रदर्शकहरुले नेपाली फिल्मलाई दिनुपर्ने भुवनको तर्क छ । अध्यक्ष केसीले फिल्म क्षेत्रको विकास र विस्तारका लागि बाधक बनेका नीति तथा नियमहरु परिवर्तन र परिमार्जित गर्न आफू लागिपरेको पनि बताए ।