सम्भवतः नेपालमा जति संघ-संस्था अरु देशमा छैनन् । हरेक क्षेत्रमा काम गर्नेहरुको आ-आफ्नै संस्था छ । नेपाली फिल्म क्षेत्रमा पनि संघ-संस्थाको कमी छैन । निर्मातादेखि प्राविधिकसम्मको संस्था छन् । तर, ती संस्थाको काम आफ्ना सदस्यहरुको हकहितका लागि लड्नेभन्दा चुनावको बेला तात्ने र अरु बेला फिल्म सम्बन्धि कार्यक्रमहरुमा उपस्थिति जनाउनेमा मात्र सीमित देखिएको छ ।
नेपाली फिल्ममा काम गर्ने कलाकारहरुको पनि छाता संस्था छ, नेपाल चलचित्र कलाकार संघ । यो संघको मूलतः काम र उद्देश्य भनेको कलाकारहरुको हकहितका लागि लड्ने र समस्या परेको समयमा अभिभावक बनेर साहरा दिने हो । यसमा संघले आफ्नो भूमिका कति निभाएको छ, त्यो त कलाकारहरुले पक्कै महसुस गरेका होलान् । तर, यो संघ पनि चुनावको बेला बढी तात्ने गर्छ ।
अहिले कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का छन् । उनले एक समय केही फिल्ममा अभिनय गरेका छन् । पुराना पुस्ताका कलाकारहरुले उनलाई राम्रोसँग चिन्दछन् । तर, नयाँ पुस्ताका धेरै कलाकारहरुलाई उनको नाम समेत थाहा छैन । शनिवार एक टीभी कार्यक्रममा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीले रविन्द्र खड्काको तस्विर देखाउँदा समेत चिन्न सकेनन् ।
धिरज र अदिती त एउटा प्रतिनिधि पात्र मात्र हुन्, कलाकार संघका सदस्यबाहेक अरु कलाकारले रविन्द्र खड्कालाई मुश्किलले चिन्छन् । यसमा कमजोरी कलाकारको भन्दा संघको बढी देखिन्छ । किनकि, अहिलेका चलेका कलाकारहरुलाई संघले आकर्षित गर्न नै सकेको छैन वा त्यो चाहेको नै छैन । र, नयाँ छिमलका कलाकारलाई संघमा आबद्ध भए के हुन्छ भन्ने जानकारी पनि छैन ।
रविन्द्र खड्कालाई अध्यक्षमा निर्वाचित भएयता फिल्मका कार्यक्रममा अतिथी बनेरै फुर्सद छैन । अरु संघ-संस्थाहरुले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर गरेर एक्यबद्धता जनाउनुबाहेक उनले आफ्नो कार्यकालमा के-के काम गरे, संघका सदस्यहरु पनि अनविज्ञ होलान् । कमसेकम चल्तीका कलाकारहरुलाई संघमा जोड्न सके मात्र पनि अध्यक्ष नै नचिन्ने अवस्था चाहिँ हट्ला कि अध्यक्षज्यू !