२० वर्ष अगाडिको ब्लकबस्टर फिल्म ‘हेरा फेरी’को अब तेस्रो सिक्वेल निर्माण हुँदैछ । यो फिल्मका अघिल्ला दुवै श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता अक्षय कुमार नै ‘हेरा फेरी ३’मा देखिने चर्चा चलेको थियो । विभिन्न चरणमा अक्षयसँग निर्माता तथा निर्देशकको छलफल पनि भयो । तर, अब उनको सट्टा अभिनेता कार्तिक आर्यनलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ ।
कार्तिकले दोस्रो पटक अक्षयको फिल्म छिनेका हुन् । यसअघि उनले अक्षयको हिट फिल्म ‘भूलभूलैयाँ’को दोस्रो सिरिज छिनेका थिए । ‘हेरा फेरी ३’का लागि निर्माता फिरोज नाडियाडवालाले अक्षय र कार्तिक दुवैसँग समानान्तर रुपमा कुराकानी गरिरहेका थिए । अक्षयसँग कुरा नमिले उनी कार्तिकलाई लिने मनस्थितिमा थिए । अन्ततः उनले फिल्मका लागि कार्तिकलाई चयन गरेका छन् ।
सूत्रले बलिउड हंगामासँग भनेको छ, ‘फिरोज ‘हेरा फेरी’ फ्रेन्चाइलाई फेरि ल्याउन उत्साहित छन् र उनी चाँडै फिल्मको छायांकन सुरु गर्न चाहन्छन् । ‘भूलभूलैयाँ २’को सफलतापछि कार्तिक ‘हेरा फेरी ३’का लागि विकल्प बनेका थिए । यही कारण फिरोजले अक्षय र कार्तिकसँग समानान्तर रुपमा कुराकानी गरेका थिए । अक्षयसँग कुरा नमिलेपछि उनले कार्तिकलाई साइन गरेका हुन् ।’
‘हेरा फेरी ३’का लागि अक्षयसँग कुरा नमिल्नुको कारण पारिश्रमिक र प्रोफिट शेयर रहेको हलिउड हंगामाले उल्लेख गरेको छ । अक्षयले फिल्ममा काम गर्न ९० करोड पारिश्रमिक र केही प्रतिशत प्रोफिट शेयर मागेका थिए, जुन निर्मातालाई स्वीकार्य भएन । कार्तिक भने ३० करोडमै काम गर्न तयार भए । पारिश्रमिकमै ६० करोडको अन्तर आएपछि फिरोजले कार्तिकलाई रोजेका हुन् ।