करिब ८ वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहालले विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुको विवाह भइरहेको छ । स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज विसीलगायतलाई जन्ती लिएर संयम दुलही लिन होटल हायात पुगेका थिए । विवाहमा संयम र आश्मा निकट केही फिल्मकर्मीहरु सहभागी छन् ।
उनीहरु लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । दशैंको छेकोमा यो जोडी विवाहका लागि नेपाल आएको थियो । संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्माले पहिलो पटक फिल्म ‘आभाष’मा एकसाथ काम गरेका थिए । यही फिल्ममा काम गर्ने क्रममा उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो ।
संयम र आश्माले फिल्म ‘नाइँ नभन्नु ल ३’मा पनि एकसाथ काम गरेका छन् । संयम अभिनयमा अब्बल मानिन्छ । फिल्म ‘सायद’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी लिड हिरोमा भने चल्न सकेका थिएनन् । त्यस्तै, आश्मा अमेरिका जानु अगाडि फिल्म ‘रामप्यारी’मा देखिएकी थिइन् ।