डेब्यू फिल्म नै सुपरहिट हुने भाग्यमानी कलाकारको सूचिमा पर्छिन् वर्षा राउत । विकासराज आचार्यको दुहुनो गाईं मानिने फिल्म ‘नाईं नभन्नू ल’को चौंथो सिरिजबाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्म त हिट भयो नै, उनको अभिनयको पनि प्रशंसा भयो । त्यसपछि ‘छक्का पञ्जा’ले उनको लोकप्रियता थप चुल्यायो । ‘जात्रा’को सफलताले पनि उनलाई ठूलो फाइदा दियो ।
उनको हिट फिल्मको सूचिमा ‘छक्का पञ्जा २’, ‘जात्रै जात्रा’, ‘दाल भात तरकारी’ र ‘मिस्टर झोले’, ‘के घर के डेरा’ पनि पर्छन् । तर, उनी सोलो अभिनेत्री रहेको हिट फिल्म भने ‘जात्रा’ सिरिज मात्र हो । अन्य हिट फिल्ममा नाम चलेका अभिनेत्रीहरुको झुण्ड नै थियो । यद्यपि, उनीसँग फ्लपभन्दा हिट फिल्म धेरै छन् । उनका ‘मेरो पैसा खै ?’, ‘गोपी’, ‘चौका दाउ’, ‘लाखे’ फिल्म फ्लपमा दरिन्छन् ।
हिट र फ्लप फिल्मका कारण उनको करिअर उतारचढावपूर्ण देखिए पनि ६ वर्ष लामो करिअर सुखद् मान्न सकिन्छ । उनले फिल्म नचल्दा हरेस खाइनन्, सफल हुँदा आफ्नो धरातल विर्सिनन् । लकडाउनको समयमा आफ्नो एक अभिव्यक्तिले निम्त्याएको विवाद र अष्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को शोमा उपस्थित हुँदा लगाएको बोल्ड पहिरनले बनेको ट्रोल, उनले भुल्न नसक्ने तीतो क्षण हो ।
नेपाली फिल्ममा उनको जसरी सुखद् उदय भयो, त्यसरी उनले आफूलाई अभिनयमा प्रमाणित गर्न सकेकी छैनन् । उनी अझैसम्म स्टीरियोटाइप भूमिकामै सीमित छिन् । अब आफूलाई कलाकारितामा लामो रेसको घोडा बनाउन उनी फिल्म र चरित्र छनोटमा गम्भीर हुनुपर्छ । संख्या बढाएर ‘लेडी राजेश हमाल’ हुने वा गुणस्तरमा ध्यान दिने, वर्षाले आफ्नो कित्ता छुट्याउन आवश्यक छ ।
उनै, वर्षा राउत बुधवारबाट २९ वर्षमा लागेकी छन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मीसँगै शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनलाई श्रीमान् संजोग कोइरालाले पनि विशेष रुपमा बर्थडे विस गरेका छन् । २०७५ साल फागुन २ गते उनले संजोगसँग लगनगाँठो कसेकी थिइन् । उनीहरुलाई नेपाली फिल्म क्षेत्रको ‘चखेवाको जोडी’ भन्ने गरिन्छ ।